नयाँ नेपाल लघुवित्तको नाफा २८.५७ प्रतिशतले बढ्यो |
काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ६५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसको तुलनामा २८.५७ प्रतिशत बढी हो ।
अघिल्लो आर्थिक वर्ष लघुवित्तले १ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७४.२८ प्रतिशत बढेर ६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन नाफा पनि १ करोड ३४ लाख रुपैयाँबाट बढेर २ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म २१ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरेको यस लघुवित्तले १ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
१० करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ करोड ८२ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको खराब कर्जा भने १.१२ प्रतिशतबाट बढेर २.०६ प्रतिशत पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।