प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा १४ करोड १५ लाख |
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ९ लाख १७ हजार रुपैयाँले बढी हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको नाफामा सामान्य बढेको देखिएपनि खुद बीमाशुल्क भने घटेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ६ करोड १८ लाख रुपैयाँले घटेर ३८ करोड ७७ लाख रुपैयाँमा सिमित भएको हा ।
अघिल्लो आर्थिक वर्ष कम्पनीले ४४ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १२ करोड ५० लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब २ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २५ करोड २० लाख रुपैयाँ, बीमा कोषमा ५३ करोड ८२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।
इन्स्योरेन्सले यस अवधिसम्ममा एक लाख १६ हजार ९३० वटा बीमालेख जारी गरी एक अर्ब ३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा २३ हजार ८३१ बीमालेखहरु नविकरण भएका छन् ।
यस अवधिमा कम्पनीले ४ हजार ५७५ वटा दाबी बापत ७० करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ८४६ दाबी बापत ३० करोड ५५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ८७ पैसा, प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ३५.५६ गुणा छ ।