कृषि विकास बैंकको नाफा एक तिहाई घट्यो |
काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यो विवरणअनुसार बैंकले २०७६/७७ मा २ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशत न्यून हो ।
बैंकले अघिल्लो वर्ष ३ अर्ब ९९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गएको वर्ष बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ऋण परिचालन गरेको छ । बैंकले खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत न्यून अर्थात् ६ अर्ब २३ करोड रुपयाँ आर्जन गरेको छ। बैंकको सञ्चालन मुनाफा पनि १६ प्रतिशतले घटेको छ ।
बैंकको वितरण योग्य नाफा भने १ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । ९ अर्ब ५५ करोड चुक्ता पुँजी भएको बैंकले गएको वर्षको नाफाबाट १७ प्रतिशत लाभांस दिनसक्ने छ। यद्यपी यो विवरण अन्तिम लेखापरीक्षण हुँदा तलमाथि हुनसक्छ ।
२.७१ प्रतिशत खराब कर्जा भएको बैंकको कर्जा निक्षेप अनुपात ६६ प्रतिशत रहेको छ भने ९.२६ प्रतिशत आधार ब्याजदर छ । ब्याजको स्प्रेडदर भने ४.४४ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३२.८८ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४२.८८ रुपैयाँ थियो ।