हिमालयन डिष्टिलरीमा कोभिड १९ को प्रभाव, बिक्री आम्दानी २५ प्रतिशतले घट्यो |
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रभाव हिमालयन डिष्टिलरीको वित्तीय विवरणमा देखिएको छ । कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण कम्पनीको सम्पूर्ण व्यवसायिक कारोबारमा असर परेको बताइएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले उत्पादन बिक्रीबाट २ अर्ब ३४ करोड रुपैयाँ कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८ करोड ८५ लाख रुपैयाँ अर्थात २५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।
लकडाउनका कारण मदिरा बिक्री वितरणका मुख्य कजार मानिएका होटल, रेष्टुराँ, बार, क्लब, पार्टी प्यालेस जस्ता क्षेत्रहरु सञ्चालनमा नआउँदा कम्पनीको उत्पादनहरुको बिक्री वितरण एवं खपतमा कमी आएको हो ।
बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफामा पनि ह्रास आएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ५३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ५७ करोड ८४ लाख रुपैयाँ पुर्याएको यस कम्पनीको जगेडा कोषमा ६७ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ रहेको थियो भने जगेडा कोषमा ६० करोड २८ लाख रुपैयाँ थियो ।
चुक्ता पूँजी बढेको र खुद नाफा घटेका कारण कारण कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १३९ रुपैयाँ २६ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यसम्ममा घटेर ८० रुपैयाँ ५७ पैसामा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ९.६९ गुणाबाट बढेर १९.८५ गुणा पुगेको छ ।