स्वाबलम्बन लघुवित्तको नाफा १६ प्रतिशतले घट्यो |
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ३५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६ करोड ६३ लाख रुपैयाँ अर्थात् १५.७० प्रतिशतले कम हो ।
अघिल्लो आवमा लघुवित्तले ४२ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चौथौ त्रैमाससम्ममा लघुवित्तले एक अर्ब २५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १७.७५ प्रतिशतले धेरै हो ।
खुद ब्याज आम्दानी बढेपनि सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याउँदा खुद नाफा संकुचित बन्न पुगेको हो । निष्क्रिय कर्जा बढेसँगै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा रकम बढाएको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३४ करोड १ लाख रूपैयाँ छुट्याएको छ ।
चुक्ता पूँजी ७९ करोड २३ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ३६ करोड २५ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा लघुवित्तले ९ अर्ब २८ करोड ५१ लाख रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ७६ करोड ३४ लाख रुपैयाँ सापटी मार्फत् १५ अर्ब २० करोड ६१ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.२२ प्रतिशत विन्दु बढेको छ । अघिल्लो आवमा ०.७७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात बढेर १.९९ प्रतिशत पुगेको हो ।
प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ २७१ रुपैयाँ ९५ पैसा र मूल्य आम्दानी अनुपात २७.४३ गुणा रहेको छ ।