स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा साढे १८ प्रतिशत घट्यो |
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा साढे १८ प्रतिशत खुद नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ९८ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफा गत वर्ष १८.५१ प्रतिशत घटेको हो ।
यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।
केन्द्रिय बैंकको निर्देशनअनुसार ब्याज छुट दिनु परेपछि बैंकको खुद ब्याज आम्दानी घटेको छ भने सञ्चालन नाफा पनि खुम्चिएको छ । त्यस्तै, बैंकको खराब कर्जाको अनुपात पनि बढ्दो छ ।
गत आर्थिक वर्ष बैंकले ३ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा ३ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्ष यस्तो आम्दानी झण्डै ८६ लाख रुपैयाँले घटेको छ ।
त्यसैगरी, सञ्चालन मुनाफा पनि ३ अर्ब ४७ करोड रुपैयाँबाट घटेर २ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ ।
बैंकको खर्च बढ्दै गएको छ । यस अवधिमा कर्मचारी खर्च झण्डै २ करोड रुपैयाँले बढेर १ अर्ब १० करोड रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ५२ करोड ५६ लाख रुपैयाँबाट बढेर ५३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, इम्पेरिमेन्ट चार्ज ८ करोड ८२ लाख रुपैयाँबाट बढेर ४३ करोड ९० लाख रुपैयाँ पुगेको छ । एकातिर खर्च बढ्दै जाँदा बैंकको आम्दानी भने घटेकाले खुद नाफामा संकुचन आएको हो ।
बैंकको निक्षेप संकलन ७५ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ९८ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५३ अर्ब ९ करोड रुपैयाँबाट बढेर ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा ०.१५ प्रतिशतबाट बढेर ०.४४ प्रतिशत पुगेको छ । असार मसान्तसम्ममा बैंकको स्प्रड दर ३.३६ प्रतिशत रहेको छ भने आधार दर ७ प्रतिशत, सिसिडि रेशियो ६६.४३ प्रतिशत र कोषको लागत ४.८४ प्रतिशत रहेको छ ।
प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७६ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५० पैसा र पिई रेशियो २६.०५ गुणा रहेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको प्रतिशेयर आम्दानी ३० रूपैयाँ ३९ पैसा थियो ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ५६ करोड रुपैयाँ रहेको छ ।