हिमालयन बैंकको खुद नाफा ८ प्रतिशतले घट्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा र वितरण योग्य नाफा दुवै घटेको छ । खुद नाफा ८ प्रतिशतले घटेर २ अर्ब ५४ करोड २५ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्ष बैंकले २ अर्ब ७६ करोड ३८ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ३५.२६ प्रतिशतले घटेर १ अर्ब ३० करोड ९२ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसको वितरण योग्य नाफा २ अर्ब २ करोड २४ लाख ३९ हजार रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५.४५ र १५.०५ प्रतिशतले घटेको छ । यसकारण पनि समग्र खुद नाफा प्रभावित हुन गएको हो । यता, निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः १४.६० र ९.५१ प्रतिशतले बढेको छ । असार मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसाले घटेर २७ रुपैयाँ १३ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २० पैसा रहेको छ ।