रसुवागढीको घाटा ६ करोड ९२ लाख |
काठमाडौं । २०७७ साल असार मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको रसुवागढी हाइड्रोपावरले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ करोड ९२ लाख रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा हाइड्रोपावरले १ करोड ४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
आयोजना समयमा सम्पन्न गर्न नसक्दा र ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा घटेका कारण हाइड्रोपावरको नाफा घट्न पुगेको हो । गत वर्ष आएको बाढी र पहिरो र कोभिड १९ महामारी जस्ता काबु बाहिरका परिस्थितिहरुले गर्दा आयोजना सम्पन्न हुन नसकेको वित्तीय विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा हाइड्रोपावरको सञ्चालन नोक्सानी ३ करोड ८३ लाख रुपैयाँ छ ।
६ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस हाइड्रोपावरको रिडेन्ड अर्निङ्ग १९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो आर्थिक वर्ष हाइड्रोपावरको यस्तो अर्निङ्ग १२ करोड ८७ लाख रुपैयाँ ऋणात्मक थियो ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा ०.७१ रुपैयाँ रहेको हाइड्रोपावरको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको अन्त्यसम्ममा १ रुपैयाँ १२ पैसा ऋणात्मक भएको छ । हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९१ पैसाबाट ९६ रुपैयाँ ७८ पैसामा झरेको छ भने प्रतिशेयर कुल सम्पत्ती १५१ रुपैयाँ २८ पैसाबाट बढेर २०५ रुपैयाँ २४ पैसा कायम भएको छ ।