नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क करिब २० प्रतिशत बढ्यो |
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क करिब २० प्रतिशत बढाउन सफल भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले २२ अर्ब ८२ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
असार मसान्तसम्ममा इन्स्योरेन्सले ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ लाख रुपैयाँ बढी हो ।
५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८७ अर्ब २ करोड र महाविपत्ती कोषमा ५५करोड ४९ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सको यस्ता कोषहरुमा क्रमशः २ अर्ब ४३ करोड, ६५ अर्ब ३६ करोड र ४३ करोड रुपैयाँ थियो ।
अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ८८ करोड रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ८ करोड रुपैयाँ कमाएको यस इन्स्योरेन्सले गत आर्थिक वर्षमा १७ अर्ब ७ करोड यस्तो कर्जा लगानी गरी १ अर्ब ५८ करोड रुपैयाँ कमाएको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।
हालसम्ममा १ खर्ब १९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्षमा २७ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । असार मसान्तसम्ममा इन्स्योरेन्समा १३ लाख ४ हजारभन्दा बढी बीमालेखहरु कायम छन् । सो अवधिसम्ममा ४० हजार २४३ दाबी बापत ६ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरीसकेको यस इन्स्योरेन्सले अझै १ अर्ब ६१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९.६५ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ९२ पैसा कायम भएको छ । त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १३०.५७ गुणा रहेको छ ।