ग्लोबल आइएमई बैंकको सिइओमा दोस्रो पटक रत्नराज बज्राचार्य नियुक्त |
काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको संचालक समिति बैठकले बज्राचार्यलाई चार वर्षका लागि नियुक्त गरेको हो । अनुभबी बैंकरको रुपमा बज्राचार्य चिनिन्छन् ।
उनी दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । पहिलो पटक ग्लोबल बैंकको नेतृत्व सम्हाल्दा मर्जरपछिको कर्मचारी व्यवस्थापन सफल बनाएका थिए ।
ग्लोबल बैंकमा आइएमई फाइनान्सियल इन्सिच्युसन गाभिएर ग्लोबल आइएमई बैंक बन्यो । त्यसपछि सोसियल डेभलपमेन्ट बैंक, लर्डबुद्ध फाइनान्स र गुल्मी विकास बैंकदेखि कमर्ज एण्ड ट्रस्ट बैंक मिसिएको थियो । ती बैंक र फाइनान्स मिसिँदा पनि विस्तारित बैंकको नेटवर्क, निक्षेप र ऋणको व्यवस्थापन उनले उत्कृष्ट रुपमा गरेका थिए ।
अहिले पनि जनता बैंक गाभिएपछि उनी बैंकको नेतृत्व सम्हाल्न आइपुगेका छन् । राष्ट्र बैंकको अहिलेको नेतृत्वले समेत रुचाइएका बैंकर हुन् बज्राचार्य । राम्रो बैंकिङ इतिहास बनाएका व्यक्ति सिइओको रुपमा आउँदा नियमनमा समेत सहज हुने भएकाले उनी रुचाइएका हुन् ।
यसअघि उनी चार वर्षे कार्यकाल पूरा गरेर सनराइज बैंकबाट वाहिरिएका थिए । कडा मिजासका बैंकरका रुपमा चिनिने बज्राचार्य एनसिसी बैंकमा पनि सिइओ भइसकेका छन् । नेपाल राष्ट्र बैंकमा २० बर्ष काम गरेका बज्राचार्य चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।