प्राइम कमर्सियल बैंकको नाफासँगै वितरण योग्य मुनाफा पनि बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षमा नै दुई विकास बैंकलाई एक्वायर गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले चौथो त्रैमाससम्ममा २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।
बैंकले गत आवको असार मसान्तसम्म कमाएको खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड ४० लाख १० हजार रुपैयाँ बढी हो । अघिल्लो आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो ।
खुद नाफासँगै बैंकको वितरण योग्य मुनाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रहेको यस्तो मुनाफा गत आर्थिक वर्षको अन्त्यमा बढेर १ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
सो अवधिसम्ममा बैंकले ४ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब २७ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब १५ करोड ४ लाख रुपैयाँ र सञ्चालन मुनाफा १२ करोड ७ लाख १८ हजार रुपैयाँ बढेको हो ।
१३ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ, शेयरधनी कोषमा १ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ र शेयर प्रिमियम ६ लाख ४४ हजार रुपैयाँ रहेको छ । २०७६ भदौ २८ गते कन्काई विकास बैंक र फागुन २८ गते कैलाश विकास बैंकलाई एक्वायर गरेका कारण बैंकको समग्र वित्तीय अवस्था बलियो देखिएको हो ।
बैंकको प्रतिशेयर आम्दानी भने २३ रुपैयाँ ६० पैसाबाट घटेर १६ रुपैयाँ ३९ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी घटेको हो । बैंक प्रतिशेयर नेटवर्थ १४६.९१ रुपैयाँ रहेको छ । त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १५.५५ गुणा रहेको छ ।
१ खर्ब १९ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी, १ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको यस बैंकको निष्क्रिय कर्जा १.५४ प्रतिशत, कष्ट अफ फण्ड ७.१४ प्रतिशत, सिडी रेशियो ७४.५४ प्रतिशत, आधार दर ८.६२ प्रतिशत र स्प्रेड ४.२२ प्रतिशत रहेको छ ।