इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ५७ करोड |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.६३ प्रतिशत कम हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकले ६५ करोड २३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.०९ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३९ करोड रूपैयाँ वितरण योग्य नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्नुका साथै इन्पेरिमेन्ट चार्ज बढ्दा उसको खुद नाफा घटेको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४१ करोड ३३ लाख रुपैयाँ घटेर ५ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यसैगरी, सञ्चालन मुनाफा ४९ करोड ७२ लाख रुपैयाँ घटेर ३ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्म बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा१ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।
हाल १४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ४१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो कोषमा १० अर्ब ५३ करोड रुपैयाँ थियो । त्यसैगरी, समीक्षा अवधिमा बैंकको रिटेन्ड अर्निङ्ग २ अर्ब ६ करोडबाट घटेर १ अर्ब ६२ करोडमा झरको छ ।
चौथो त्रैमासको प्रतिवेदन अनुसार बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३६ पैसा घटेर १८ रुपैयाँ ७ पैसा कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ समीक्षा अवधिमा १९९बाट घटेर १९२ रुपैयाँमा झरेको छ । त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात २४ गुणा कायम भएको छ । बैंकको निष्क्रिय कर्जा २.७८ प्रतिशतबाट बढेर २.९१ प्रतिशत पुगेको छ । जसले गर्दा बैंकको इम्पेरिमेन्ट चार्ज २८ करोड ३५ लाख रुपैयाँ बढेर १ अर्ब ८८ करोड पुगेको छ ।
बैंकको पूँजी कोष अनुपात १३.२३ प्रतिशत रहेको छ भने कोषको लागत ६.३१ प्रतिशतबाट घटेर ५.८५ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको आधार दर ७.५१ प्रतिशत रहेको छ भने स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ ।