थप चार जनाको कोरोना संक्रमितको मृत्यू, कुल संख्या ९५ पुग्यो |
काठमाडौं । नेपालमा थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । योसँगै देशभरमा हालसम्म ९५ जनाको मृत्यू भइसकेको छ ।
मृत्यू हुने तीन पुरुष र एक जना महिला रहेका छन् । मृतकहरु महोत्तरी, धनुषा, अछाम र मोरङका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
महोत्तरी,मतिहानी, ६ का ४५ वर्षीय कोरोना संक्रमित पुरूषको साउन २५ गते रामजानकी अस्पतालमा निधन भएको छ । उनी क्षयरोग तथा मधुमेह रोगबाट ग्रसित थिए ।
यसैगरी धनुषा,मिथिलानगर,७ बस्ने ८५ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण निधन भएको छ । साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,धरानमा उनको निधन भएको हो ।
कोभिड संक्रमणका कारण मृत्यु हुने अर्का व्यक्ति अछामस्थित रामरोसा, ५ का १८ वर्षीय पुरुष हुन् । उनको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,ललितपुरमा मृत्यु भएको हो । ती पुरुष मुटु रोगी भएको मन्त्रालयले जनाएको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार मोरङ,विराटनगनर,३ निवासी ५७ वर्षीय पुरुषको पनि कोभिड संक्रमणका कारण मृत्यु भएको छ । ती पुरुष मधुमेह तथा उच्च रक्तचापका बिरामी रहेका थिए ।