कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो |
काठमाडौं । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण नेपालमा थप ८ जनाको मृत्यु भएको जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १ गरी जम्मा ८ जनाको मृत्यु भएको हो ।
मृतकमध्ये २ महिला र ६ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको छ ।