नेपाल सरकारको कोरोना कोषमा नेपाल बैंकको ३ करोड ४६ लाख हस्तान्तरण |

काठमाडौं । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा.युवराज खतिवडालाई बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले हस्तान्तरण गरेका छन् ।
बैंकले हरेक बर्ष आफ्नो मुनाफाको १ प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको र उक्त कोषमा जम्मा भएको रकम नेपाल राष्ट्र बैंकले निर्देशन गरे बमोजिम विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वस्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामुदायिक हित संरक्षण लगायतका क्षेत्रहरुमा खर्च गर्दै आएको छ ।
हाल देशभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारणबाट सृजना हुन सक्ने जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन मौद्रिक नीति, २०७७÷७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकबाट भएको निर्देशन अनुसार उक्त रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए । उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउँदै लैजान र बैंकको थप प्रगतिका लागि शुभकामना दिए ।
उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषण गरेको र हालसम्म संघिय सरकारको कोषमा रु.४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई रु.५ लाखका दरले रु. ३५ लाख गरी कुल रु. ४ करोड ८१ लख आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको र यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरे ।
उक्त चेक हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना, डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्य, सहसचिव केदारप्रसाद पनेरु, अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।