सिद्धार्थ बैंकको खुद नाफा सामान्य घट्यो |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य घटेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ४९ लाख रुपैयाँ अर्थात ७.३० प्रतिशत कम हो ।
खुद ब्याज आम्दानी बढेपनि बैंकले खर्च नियन्त्रण गर्न नसक्दा खुद नाफामा दबाब पुगेको हो । समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ३२.४२ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च १७.२७ प्रतिशत बढेको छ ।
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा २३ रुपैयाँ ७ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्षमा घटेर २१ रुपैयाँ ३८ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १३.८४ गुणा कायम भएको छ ।
९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख रुपैयाँ र शेयरधनी कोषमा ९४ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८६ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
गत आवको चौथो त्रैमाससम्ममा बैंकले १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले ५ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। जसबाट बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३ अर्ब २८ करोड ३७ लाख रुपैयाँबाट घटेर ३ अर्ब ६ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ ।