लगानी बोर्डको सिइओमा सुशिल भट्ट नियुक्त |
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुशिल भट्टलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
विदेशी लगानी आकर्षण तथा सहजीकरणका लागि गठन भएको बोर्डको प्रमुख कार्यकारी खोज्नका लागि अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा समिति गठन भएको थियाे ।
प्रस्ताव मूल्यांकन तथा अन्तर्वार्ताको माध्यमबाट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री डा युवराज खतिवडा नेतृत्वको समितिले सिइओ नियुक्तिका लागि सुशिल भट्ट, डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम सिफारिस गरेको थियो ।
यी मध्येबाट मन्त्रिपरिषको बैठकले भट्टलाई सिइओमा नियुक्त गरेको हो । भट्ट योजना आयोगकको पूर्वाधार हेर्ने सदस्य थिए। बैंकिङ तथा परामर्श क्षेत्रमा विगतको अनुभव भएका भट्ट नेपाल व्यवस्थापन संघका अध्यक्ष पनि भइसकेका छन् ।
पूर्वाधार आयोजनाका लागि परामर्शदाताको रुपमा पनि काम गरेको अनुभव भएका भट्टको विशेषज्ञता ग्रामिण विद्युतीकरणमा रहेको छ ।
यसअघि सिइओ रहेका महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि साे पद खाली रहेको थियो ।