अर्को हप्तादेखि टुटलले ट्याक्सी सेवा सुरु गर्ने, कमिसन नलिने |
काठमाडौं । अर्को हप्तादेखि टुटलले ट्याक्सी सेवा सुरु गर्ने भएको छ। राजधानीमा राइड सेयर सेवा दिइरहेको टुटलले उपत्यकामै ट्याक्सी सेवा सुरु गर्न लागेको हो ।
आफ्ना क्लाइन्टहरुको अत्याधिक अनुरोध आएकोले ट्याक्सी सुरु गर्न लागिएको टुटलका म्यानेजर आयुस कार्कीले जानकारी दिए ।
‘हामी सुरुमा ५ सय वटा ट्याक्सीबाट सेवा सुरु गर्छौ। क्लाइन्टको मागअनुसार पछि बढाउँदै लान्छौं,’ कार्कीले भने । टुटलले नेपाल सरकारले तोकेकै मूल्यमा सेवा दिने उनले बताए ।
‘हामी प्यासेन्जरसगँ नेपाल सरकारले तोकेकै पैसा लिन्छौं र ट्याक्सी चालकसगँ कुनैपनि प्रकारको कमिसन लिदैनौं,’कार्कीले भने ।
टुटलको पुरानै एपमार्फत ट्याक्सी सेवा लिन सकिने छ। एपमा ‘ट्याक्सी अप्सन’मा गएर ट्याक्सी बोलाउन सकिने उनले जानकारी दिए ।
चार वर्षअघि सुरु भएको टुटल युवा पुस्ता माझ निकै लोकप्रिय छ। हालसम्म टुटल प्रयोगकर्ता करिव ८ लाख छन् भने ४५ हजार भन्दा धेरै राइडर टुटलमा आवद्ध छन् ।