नेपाल टेलिकमको वेबसाइट परिमार्जन, के–के सुविधा थपिए |
काठमाडौं । नेपाल टेलिकमको वेबसाइटलाई परिमार्जन गरिएको छ। टेलिकमले थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाएको बताएको छ । वेबसाइटको होमपेजमै राखिएको 'सेल्फ केयर' एकाउन्टको प्रयोग गरेर विभिन्न सेवाका बारेमा जानकारी पाउन र सेवा खरिद गर्न सकिन्छ ।
सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज किन्न पनि सकिन्छ। आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट दिन पनि सकिन्छ ।
त्यसैगरी, आफूले किनेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध व्यालेन्सको बारेमा जानकारी लिन सकिने कम्पनीले बताएको छ ।
रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवाहरुमा अनलाइन रिचार्ज वेबसाइटबाटै गर्न सकिन्छ ।
नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाइसी फर्म समेत यहीबाट भर्न सकिन्छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्ड्स एन्ड फ्रेन्ड सेवा, नमस्ते क्रेडिट सेवा, मिस्ड कल अलर्ट, सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेमा जानकारी लिन पनि सकिन्छ ।
साथै पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरुका थप विशेषताका बारेमा यसबाट जानकारी पाउन सकिन्छ। त्यसैगरी, रिचार्ज कार्डका ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीका विभिन्न कामको जानकारीका लागि प्रकाशित गरिएका प्रेस विज्ञप्ति र न्युजलेटर सोही वेबसाइटबाट अध्ययन गर्न सकिन्छ । कम्पनीले मासिक रुपमा प्रकाशन गर्ने एनटी न्युजलेटर कम्पनीको वेबसाइटबाट सब्सक्राइब गर्न सकिन्छ ।
नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिने कम्पनीले बताएको छ ।
आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनैपनि सेवाको बारेमा खोजी गर्न सकिने सुविधा समेत वेबसाइटको होमपेजमै उपलब्ध छ । होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा विस्तृत जानकारी पाउन सकिन्छ ।
वेबसाइटको होमपेजमै विभिन्न डाटा प्याकेजहरुको जानकारी दिइएको छ। यहीबाट आफूलाई आवश्यक डाटा प्याकेज किन्न सकिन्छ । यससँगै नेपाल टेलिकम मोबाइल एपको बारेमा जानकारी पनि कम्पनीको वेबसाइटमा राखिएको छ । डाउनलोडमा गएर कम्पनीको प्रबन्धपत्रदेखि विभिन्न सेवाका फारामहरु, बोलपत्र आव्हान आदि प्राप्त गर्न सकिन्छ ।
न्यूज एन्ड अपडेट्सबाट कम्पनीको वार्षिक स्मारिका, महत्वपूर्ण सूचनाहरु तथा विभिन्न शैक्षिक कार्यक्रमका नतिजाहरु त्यहाँ दिइएको छ ।
टेलिकमकाअनुसार मोबाइल सेवा, ल्याण्डलाइन टेलिफोन, एफटिटिएच तथा एडिएसएल सेवाका बारेमा जानकारी लिन सकिन्छ। सोधपुछ गर्न तथा गुनासाहरु दर्ता गराउनका लागि प्रयोग हुने विभिन्न ‘सर्ट कोड्स’ पनि वेबसाइटबाट पाउन सकिन्छ ।