एनआइसी एशियाका शाखाबाट डिजिटल रुपमा आफैंले खाता खोल्न मिल्ने |
काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना शाखाबाट ग्राहक आफैंले बचत खाता खोल्न मिल्ने ‘डिजिटल एकाउन्ट ओपनिङ प्रणाली’को सुरुवात गरेको छ ।
ग्राहकले उक्त प्रणालीमार्फत खाता खोल्नको लागि भौतिक फारमको सट्टा आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरेर बचत खाता खोल्न सक्ने व्यवस्था बैंकले गरेको हो ।
यस प्रणालीमा ग्राहकले ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफूले चाहेको खाता छनौट गरेर डिजिटल रुपमा खोल्न सक्ने बैंकले बताएको छ ।
कम्प्युटरमा दक्षता नपुगेकाको लागि बैंककै कर्मचारीहरूको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने व्यवस्था गरिएको छ । त्यसका लागि बैंकले आफ्ना सबै शाखा कार्यालयहरूमा छुट्टै 'डिजिटल लबी'को व्यवस्था गरेको छ ।
यसरी खाता खोल्दा ग्राहकलाई फारम भर्न लामो समय पालो कुरेर बस्नुपर्ने झन्झट नहुने बैंकले विश्वास लिएको छ । यस बैंकले ३२६ शाखा कार्यालयहरू, ४६५ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा दिदैं आएको छ ।