अजोड इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड, ४३.६५ प्रतिशतले नपाउने |
काठमाडौं । अजोड इन्स्योरेन्सको आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज दिउँसो ३ बजे आईपीओ बाँडफाँड हुने भएको हो ।
कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ असार २५ गते बिहिबारदेखि बिक्री खुला गरेको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको थियो । बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो ।
कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको क्यापिटलले जनाएको छ । त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी २ लाख ११ हजार ४९८ जनाको खाली हुनेछ ।
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ । त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ ।