बिहीबार १६७ जनामा कोरोना संक्रमणको पुष्टि, २१३ जना डिस्चार्ज | काठमाडौंका एक जनामा कोरोना पोजिटिभ
काठमाडौं । बिहीबार १६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ जसमध्ये ६ हजार ५६ जना सक्रिय संक्रमित रहेका छन् ।
आज भेटिएका संक्रमित मध्ये काठमाडौंका एक जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई २१३ जना डिस्चार्ज भएका छन् । यसरी हालसम्म कोरोना निको भएकाको संख्या ११ हजार २४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भएका तीन हजार परीक्षणमा केवल तीन जनाको परीक्षण नतिजामा कोरोना पोजिटिभ पाइएको छ । मन्त्रालयका प्रवक्ता जोगेश्वर गौतमले संक्रमणको दर कम भएकाले मात्र पिसिआर परीक्षण कम भएको बताएका छन् । उनले संक्रमण दर कम भएतापनि जोखिम कम नभएको पनि जानकारी दिएका छन् ।
दुई साता अघि पिसिआर पोजिटिभ देखिने दर ९ प्रतिशतबाट घटेर अहिले २ वा ३ प्रतिशत रहेको छ । त्यस्तै क्वारेन्टाईनमा रहने तथा पिसिआर परीक्षणमा पोजिटिभ देखिनेको संख्या पनि कम हुँदै गएको पनि प्रवक्ता गौतमले जानकारी दिएका छन् । हाल १० हजार भन्दा बढि पिसिआर जाँच गर्न मन्त्रालयको सक्षम रहेको पनि उनले जनाएका छन् ।