इजीलिंक रेमिट्यान्स नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध |
काठमाडौं । इजीलिंक रेमिट्यान्स प्रालि क्लियरिङ हाउसमा आबद्ध भएको छ । नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)को प्रयोग गरी रेमिट्यान्स कारोबारहरू सिधै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने सुविधा प्रदान गर्न अप्रत्यक्ष सदस्यको रूपमा नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको कम्पनीले बताएको छ ।
योसँगै इजीलिंकमार्फत रेमिट्यान्स भुक्तानीका कारोबारहरू कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत ‘रियल टाइम’ मा तुरुन्तै भुक्तानी गर्न मिल्ने बताइएको छ । यस्तै अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आईपीएसमार्फत तोकिएको समय सीमाभित्रै भुक्तानी कारोबारहरू गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।
यो साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सका लागि इजीलिंकको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा कम्पनीले गरेको छ । विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआईमार्फत हाल उपलब्ध कनेक्ट आईपीएसको ५२ र एनसीएचएल–आईपीएसकोे सञ्जालमा ६३ ओटा सदस्य बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन् ।