मयूर यातायातका बस चल्न थाले,साझा बिहीवारबाट चल्ने |
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरे पछि केही सार्वजनिक सवारीसाधनहरु चल्न थालेका छन् । काठमाडौं र बुटवलमा केहि सार्वजनिक सवारी साधनहरु सडकमा गुड्न थालेका हुन् ।
काठमाडौंमा मयुर यातायात र बुटवलमा लुम्बिनी मेट्रोसिटीले सरकारले तोकिएको मापदण्ड अनुसार सार्वजनिक सवारी साधनहरु सञ्चालन ल्याएका हुन् । मयुरले काठमाडौ उपत्यका र लुम्बिनी मेट्रोसिटीले बुटवल–भैरहवा रूटमा सवारी साधन सञ्चालनमा ल्याएको छ ।
सरकारले निर्णय सार्वजनिक गरेको भोलिपल्टै अर्थात शनिबार देखि नै मयुर यातायातल सेवा सुरु गरेको अध्यक्ष मोहन श्रेष्ठले बताए । उनले दुई वटा बस काभ्रेमा कर्मचारी ल्याउन र पुर्याउन र दुई वटा बस रिङ रोडमा सञ्चालन भैरहेको जानकारी गराए ।
असार २३ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार सार्वजनिक यातायातहरु सञ्चालनमा आउन थालेका हुन् ।
यस्तै सरकारी स्वामित्वको साझा यातायातले पनि साउन १ गतेदेखि सेवा सुचारु गर्ने तयारी थालेको छ । साझाले सरकारले तोकेको मापदण्ड अनुसार सेवा संचालन गर्न लागेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले बताए । उनले साउन १ गते देखि काठमाडौं उपत्यकामा अनुमति प्राप्त रुटमा सवारी साधन सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिए ।