लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम आयोजना |
काठमाडौं । लायन्स क्लबले यही शुक्रबार आषाढ २६ को दिन काठमाडौँको न्यू रोडस्थित ताम्राकार कम्प्लेक्समा एक बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहान १० बजेबाट शुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म सम्पन्न भएको थियो । उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा कुल ५१ पिन्ट रगत संकलन भएको थियो । जसमा ४० पुरुष र ११ महिलाले रक्तदान गरेका थिए ।
देश कोरोना भाइरसको महामारीसँग जुझिरहेको बेला थप एक संकट आइपरेको छ, रगतको अभाव । कोरानाकै त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ । कोरोभाइरसको सुरक्षाको निम्ति सरकारले शुरु गरेको लकडाउन पश्चात् सम्पूर्ण रक्तदान कार्यक्रमहरु स्थगित छन् । रक्तदान गर्न इच्छुक व्यक्तिहरु पनि यस भाइरसको जोखिमले त्रसित छन् । यसैबीच रगतको अभावको समाधान खोज्ने दृष्टिकोणले लायन्स क्लबले संक्रमणको जोखिमलाई विशेष ध्यान दिई सुरक्षित तरिकाले यस रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
लायन्स क्लबले यस रक्तदान कार्यक्रमको आयोजनाबाटै मानिसहरुमा रहेको रक्तदान प्रतिको गलत विचार तथा भ्रम हटाई नयाँ रक्तदाताहरुलाई प्रोत्साहित गर्न प्रयास गरेको देखिन्छ । मानिसहरूमा अझ पनि रक्तदानबारे जोडिएका अन्धविश्वास छन् जसका कारण उनीहरू खुलेरै रक्तदान गर्न हिच्किचाउँछन् ।
एक सर्वेक्षणअनुसार शाकाहारी मानिसले रक्तदान गर्नु हुँदैन भन्ने भ्रम पाइएको छ । ट्याटु र अंग छेड्नेहरुले रक्तदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि रहेको पाइन्छ ? त्यसैगरी रक्तदान गरेपछि शरीरको रगत सकिन्छ आदि लगायतका गलत विश्वास पनि मानिसहरुमा रहेको पाइन्छ ।
वास्तवमा यी सबै निराधार हुन् । मानिसले बुझ्नु पर्ने कुरा के भने यदि तपाईँ पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ, शरीरको तौल कम्तिमा ४५ किलो वा माथी छ र तपाईँको उमेर १८ वर्ष नाघिसकेको छ साथै एच आई भि जस्ता जटिल रोगहरुको इतिहास छैन भने तपाईँ निर्धक्क भएर रक्तदान गर्न सक्नुहुन्छ ।
लायन्स क्लबले कार्यक्रमको अन्त्यमा उपस्थित सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि फेरि यस किसिमको रक्तदान कार्यक्रम आयोजना गर्ने जानकारी गराए ।