आइसिटी अवार्ड २०२० को अनलाइन नोमिनेशन शुरू | दुई नयाँ विधासहित ११ विधामा पाचौं आइसिटी अवार्ड हुने
काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको पाँचौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) असार ८ देखि शुरु भएको छ । लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने आइसिटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६, २०७७ ( तदनुसार जुलाई ३१, २०२०) गतेसम्म खुल्ला गरिएको छ ।
कोरोनाको प्रभाव र महामारीको कारण आइसिटी अवार्ड यस वर्ष केही समय ढिला हुन गएको छ । हरेक वर्ष १७ अगष्टमा आयोजना हुने अवार्डको फिनाले कार्यक्रम यस वर्ष केही समय ढिला हुनेछ । अनलाइन आवेदनको मिति सकिएपछि समय र अवस्था हेरेर अवार्डको फिनाले मिति घोषणा गर्ने छ ।
यस वर्ष विभिन्न ११ विधामा आइसिटी अवार्ड आयोजना हुनेछ । इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड थप गरिएका नयाँ विधाहरू हुन् । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड विधाहरु इन्नोभेसन, प्रडक्ट र स्टार्टअपसँग सम्बन्धित अवार्ड विधाहरू हुन् । यसैगरी पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी र मिडिया पर्सन आइसिटी अवार्ड व्यक्तिलाई प्रदान गरिने अवार्डका विधाहरू रहेका छन् । डिजिटल गभर्नेन्स आइसिटी अवार्ड सरकारी सस्था र डिजिटल एजुकेशन आइसिटी अवार्ड सामुदायिक शैक्षिक संस्थानहरुलाई प्रदान गरिने अवार्ड विधाहरू रहेका छन् । सन् २०१६ देखि सुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ३० बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रोडक्टहरू सम्मानित भइसकेका छन् ।
गतवर्ष स्टार्टअप आइसिटी अवार्ड ई–डिजिटल नेपालले प्राप्त गरेको थियो भने प्रडक्ट अवार्ड मेडिफ्लो सिस्टम एण्ड सर्भिसेसले प्राप्त गरेको थियो । स्टुडेन्ट राइजिङ अवार्ड रक्तदान प्रोजेक्टले प्राप्त गरेको थियो । यसैगरी पायोनियर अवार्ड महावीर पुन, नेपाली डायस्पोरा अवार्ड डा. समीर मास्के र आन्टरप्रेनर्स अवार्ड अमित अग्रवालले प्राप्त गर्नुभएको थियो । डिजिटल गभर्नेन्स अवार्ड लोकसेवा आयोग र डिजिटल एजुकेशन अवार्ड नेपाल खुल्ला विश्वविद्यालयले प्राप्त गरेका थिए । पब्लिक च्वाइस अवार्ड किताबयात्राले प्राप्त गरेको थियो भने मिडिया पर्सन आइसिटी अवार्ड विजय तिमल्सिनाले प्राप्त गनुभएको थियो ।
यस वर्ष अवार्डको छनौट प्रक्रियालाई व्यवस्थित र सहज बनाउन १२ जना जुरी सदस्य र १० बढी जुरी सल्लाहकार सदस्यहरू रहनुभएको छ । छनौट प्रक्रिया विभिन्न चरणहरूमा हुनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट प्रोजेक्ट र इन्नोभेसनमा विभिन्न चरणबाट उत्कृष्ट ५ छान्दै अनलाइन तथा एसएमएस भोटिङ पनि सञ्चालन हुनेछ भने अन्य विधाहरूमा जुरी समूहले विभिन्न चरणमा छनौट प्रक्रिया सञ्चालन गर्नुहुनेछ । निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको आइसिटी अवार्डलाई यस वर्ष अझ परिष्कृत र प्रतिष्ठित बनाउने हाम्रो तयारी हुनेछ । यो वर्ष कोरोनाको संकटको कारण छनौट प्रक्रिया पनि बढी प्रविधिमैत्री हुनेछ ।
अवार्ड विजेताहरुलाई विशिष्ट सम्मानसँगै शिल्ड प्रदान गरिनेछ । स्टार्टअप, प्रडक्ट, स्टुडेन्ट र इन्नोभेसनका विधाका विजेताहरुलाई गतवर्षझै बैंकको सरल कर्जा र लगानीसँग जोडिनेछ । अवार्डमा नोमिनेशन तथा आवेदन दिनको लागि आधिकारिक वेबसाइट ictaward.orgictaward.org मा गएर सम्बन्धित विधा (क्याटेगोरी) अनुसार अनलाइन फारम बुझाउनुपर्नेछ ।
कसले कुन विधामा दिने आइसिटी अवार्ड २०२० को आवेदन ?
१.स्टार्टअप आइसिटी अवार्ड
आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाइ प्रवर्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानुन अनुसार कम्पनी दर्ता भएर संचालनमा रहेको हुनुपर्नेछ ।
- यस विधामा बिगत ३ वर्ष (आर्थिक बर्ष २०७४∕०७५ देखि २०७६∕०७७) को अवधिमा दर्ता भएका कम्पनीहरुले आवेदन दिन सक्नेछन् ।
२. प्रडक्ट आइसिटी अवार्ड
आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समुह वा व्यक्तिले विकास गरेको आइटी प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ ।
- २०७६ वैशाखदेखि २०७६ चैत मसान्तसम्म सार्वजनिक भएका आइटी प्रोडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
३. राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड
राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा बिश्वबिध्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । यस विधामा विद्यार्थीहरूले बनाएका आइटी प्रोजेक्ट तथा प्रडक्टहरूलाई समावेश गर्न सकिन्छ ।
४. इन्नोभेसन इन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड
कोभिड ( १९ महामारी द्वारा सिर्जित समस्याको नियन्त्रण तथा समाधान गर्ने प्रयास स्वरूप विकास भएका नयाँ इन्नोभेसनहरूलाई यस विधामा नोमिनेशन गर्न सकिनेछ । संकट समाधानमा इन्नोभेसन र प्रविधिको महत्वलाई दर्शाउने गरी विकास भएका यस्ता विभिन्न एप्लिकेशन, सफ्टवेयर, हार्डवेयर, रोबोटजस्ता प्रविधिहरू यस विधाको लागि योग्य मानिनेछन् ।
- यस विधामा नोमिनेशन (आबेदन) दिनको लागि माघ २०७६ देखि आबेदनको अन्तिम दिनसम्म सार्वजनिक भएका प्रविधि तथा इन्नोभेसनहरु हुनुपर्नेछ ।
५. पायोनियर आइसिटी अवार्ड
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लामो समयसम्म योगदान दिएका विशिष्ट व्यक्तिलाइ दिइनेछ ।
- यो अवार्डमा सूचना प्रविधि क्षेत्रमा विगत १५ वर्षदेखि योगदान दिइरहेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । यस विधामा स्वयम् वा अरू कसैले पनि सम्बन्धित व्यक्तिको नाममा नोमिनेशन (आबेदन) दिन सकिनेछ ।
६. नेपाली डायस्पोरा आइसिटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । यस विधामा विदेशमा रहेर पनि सूचना प्रविधि क्षेत्रमा योगदान दिइरहेका नेपालीहरूले आबेदन दिन सक्नेछन् । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा नोमिनेशन(आबेदन) दिन सकिनेछ ।
७. आन्टरप्रेनर आइसिटी अवार्ड
आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ ।
- यस विधामा नोमिनेशन दर्ता गर्न सूचना प्रविधिको क्षेत्रको उद्यमीको रुपमा कम्तिमा ५ बर्षदेखि क्रियाशील रहेको हुनुपर्नेछ । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन(आवेदन) दिन सकिनेछ ।
८. वुमन आइकन आइसिटी अवार्ड
वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूको लागि लक्षित छ । आइटी क्षेत्रमा क्रियाशील महिला (उद्यमी, लिडर, म्यानेजर, इन्नोभेटर)हरूले यसमा आवेदन दिन सक्नुहुनेछ ।
- यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन(आवेदन) दिन सकिनेछ ।
९. मिडिया पर्सन आइसिटी अवार्ड
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई मुख्य बिट बनाएर समाचार रिपोर्टिङ, सम्प्रेषण, प्रकाशनमा क्रियाशील पत्रकारलाई दिइनेछ ।
- कम्तीमा ३ वर्षको अनुभव भएका पत्रकारहरूले यसमा आवेदन दिन सक्नुहुनेछ । यस विधामा स्वयम् वा अरू कसैले सम्बन्धित व्यक्तिको नाममा सम्पूर्ण विवरण उल्लेख गरी नोमिनेशन(आवेदन) दिन सकिनेछ ।
१०. डिजिटल एजुकेशन आइसिटी अवार्ड
डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ ।
- विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थानहरूले यो विधामा आवेदन दिन सक्नेछन् । यस विधामा जो कोहिले सम्पूर्ण जानकारी उल्लेख गरेर नोमिनेशन (आवेदन) फाराम बुझाइदिन सकिन्छ ।
११. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
सरकारी सेवा सुविधालाई प्रविधिमैत्री बनाउँदै छिटो, सहज र पारदर्शी रूपमा सेवा सञ्चालन गर्ने सरकारी संस्थालाई यो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।
- नागरिकलाई सेवा दिने सरकारी सस्था, प्राधिकरण, विभाग, स्थानीय निकाय लगायतको प्रतिनिधित्व गर्दै यस विधामा नोमिनेशन दिन सकिन्छ ।