कोरोनाले वित्तीय क्षेत्रको जोखिम व्यवस्थापनमा चुनौति बढायो ː विज्ञ | कोरोना प्रभावपछिको वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि तयार छौँ ː राष्ट्र बैंक
काठमाडौं । वित्तीय क्षेत्रका विज्ञ एवं सरोकारवालाहरुले कोरोना भाइरसको महामारीका कारण यस क्षेत्रमा बढेको जोखिम व्यवस्थापनमा सम्पूर्ण पक्षले सचेततापूर्वक काम गर्नुपर्ने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था -आइक्यान_ ले गरेको 'म्यानेजिङ रिस्क एन्ड च्यालेन्जेज अफ फाइनान्सिएल सेक्टर-पोस्ट कोभिड प्यान्डेमिक' विषयक छलफल कार्यक्रममा उनीहरूले कोरोनाका कारण अप्रत्यासित जोखिम सिर्जना गरेको भन्दै सम्पूर्ण पक्षले मिलेर काम गर्नुपर्ने उल्लेख गरे ।
आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्यले कोभिड १९ ले वित्तीय क्षेत्रमा तत्कालका लागि कर्मचारीको सुरक्षाको चुनौती देखिएको उल्लेख गरे। कार्यक्षेत्रमा पुग्नुपर्ने साथै ग्राहकहरुलाई नियमित सेवा दिनुपर्ने बाध्यताले जोखिम बढेको उनले बताए।
आचार्यले सरकारले राहत प्याकेज ल्याउँदा ब्याजदरमा दिनुपर्ने छुटले चुनौती देखिएको उनले बताए। बैंक तथा वित्तीय संस्थाको आम्दानीमा गिरावट आएको उनको भनाइ छ। बैंकहरुको कर्जा बिग्रिने दर ह्वात्तै बढेको उनले बताए। ग्राहकहरुलाई सेवा दिने क्रममा प्रत्यक्षरूपमा भेट्नुपर्ने बाध्यताले पनि जोखिम बढाएको उनले उल्लेख गरे।
उनले महामारीपछि ऋणीलाई ऋण भुक्तानीका लागि 'ग्रेस' अवधि दिइए पनि भविष्यमा खराब ऋण बढ्न सक्ने चिन्ता व्यक्त गरे। 'संभावित जोखिम न्यूनीकरणका लागि वित्तीय क्षेत्रले विशेष रणनीति बनाएर अघि बढ्नुपर्छ,' उनले भने, 'वित्तीय विवरणमा हुने परिवर्तनलाई पहिले नै सोचेर आवश्यक काम कारबाही गर्नुपर्छ।' वित्तीय क्षेत्रले कोरोनापछिको संकटको सामना गर्न अहिले नै रणनीति बनाउनुपर्ने उनको सुझाव छ।
महालेखापरीक्षक टंकमणि शर्मा दंगालले वित्तीय क्षेत्रले समस्षा भोग्नुपरेको भन्दै यसको असर बीमा क्षेत्रमा पनि देखिन थालेको बताएका छन्। उनले यस अवस्थामा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्नुपर्ने चुनौति बढेको उल्लेख गरे।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सन् २००८ को आर्थिक संकटभन्दा कोरोनाको प्रभाव ठूलो रहेको उल्लेख गरे। उनले कोरोनाले वित्तीय अवस्थालाई नै परिवर्तन गरेको बताए। 'कोरोनाले अर्थतन्त्रको वृद्धिदरलाई रोकेको छ, खराब कर्जा बढाएको छ,' उनले भने।
कोरोनाकै कारण सरकारको राजस्व पनि घटिरहेको उनले बताए। नेपाल राष्ट्र बैंकले कोभिड १९ ले पुर्याएको क्षतिलाई नजिकबाट हेरिरहेको भन्दै श्रेष्ठले व्यवसायमा यसको प्रभाव न्यूनीकरण गर्न पुनर्कर्जाको दायरा बढाइएको उल्लेख गरे। श्रेष्ठले पर्यटन तथा यात्रायात क्षेत्रमा कोभिडले सबैभन्दा धेरै असर पुर्याएको बताए।
कोरोनाको प्रभावपछिको वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि राष्ट्र बैंक तयार रहेको श्रेष्ठले बताए। उनले घट्दो रेमिट्यान्स नेपालका लागि अर्को चुनौतिको विषय भएको पनि उल्लेख गरेका छन्। 'यस चुनौतिलाई अवसरको रुपमा प्रयोग गर्ने छौं,' उनले भने, 'प्रोभिजनिङ, ब्याज पुँजीकरण गर्नेदेखि लिएर बिजनेस इन्जिनियरिङ गर्नेसम्मका काम भैरहेको छ। नेपालका सम्पूर्ण नियमनकारी निकायको समन्वयमा एनएफआरएस लागू गरिएको छ। यसले वित्तीय प्रणालीलाई सुधार गरेको छ।'
छलफलमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अप्रत्याशित जोखिम बढ्न सक्ने संभावना बढेकाले त्यसलाई सामना गर्न रणनीति बनाएर अघि बढ्नुपर्नेम जोड दिए। उनले आन्तरिक र बाह्य दुवै रणनीति बनाएर नयाँ परिस्थितिमा अघि बढ्नुपर्ने उनको भनाइ छ। अहिलेको जोखिमले खराब कर्जा बढ्ने संभावना बढेको उनको भनाइ छ।
यसैगरी साफाका अध्यक्ष जिया उल मुस्तफा अवानले कोभिड १९ का कारण दक्षिण एशियाली राष्ट्रका शेयर बजारले भारी अंकले गुमाएको बताए। सहजरुपमा कारोबार नहुँदा बजार धेरै अंकले गिरावट आएको उनको भनाइ छ।
दक्षिण एशियाली राष्ट्रका वित्तीय क्षेत्रले कोभिड १९ ले पार्ने प्रभावलाई अग्रिमरुपमा मूल्यांकन गर्न नसक्दा समस्यामा परेको अवानले बताए। अहिले कर्जा बिग्रिने दर पनि बढेको उनले उल्लेख गरे। यस समयमा वित्तीय क्षेत्रमा तरलताको जोखिम पनि उत्तिकै रहेको उनको भनाइ छ। दक्षिण एसियामा कर्पोरेट डिफल्टरको समस्या पनि रहेको उनले बताए।
परिवर्तित अवस्थामा बैंक तथा वित्तीय क्षेत्रले आर्टिफेसियल इन्टेलिजेन्समार्फत काम गर्नुपर्ने उनको भनाइ छ। 'हामीले प्रविधिमा आधारित सेवा प्रवाह गर्नुपर्ने चुनौति देखिएको छ, यस्तो समयमा लेखापरीक्षण तथा निरीक्षणको काम सबैभन्दा चुनौतिपूर्ण छ,' उनले भने।
इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट इन्डियाका अध्यक्ष अतुलकुमार गुप्ताले लकडाउका कारण वित्तीय क्षेत्रमा चुनौती थपिएको उल्लेख गरे। उनले लेखामानका मापदण्ड कायम गराउनु अहिलेको ठूलो चुनौति भएको बताए। ऋण बिग्रिनु पनि अर्को चुनौति रहेको उनको भनाइ छ।
बजारमा नगद प्रवाह घटेको र वित्तीय साधनको प्रयोग कम हुन थालेकाले त्यसले चुनौती बढाएको उनको भनाइ छ। लेखापरीक्षण गर्दा वित्तीय मानहरूलाई कायम गर्नुपर्ने भए पनि ऋण बिग्रिँदा समस्या बढेको उनले उल्लेख गरे। समग्र दक्षिण एशियामै कोभिडको प्रभाव उस्तै किसिमको देखिएकाले यस्तो अवस्थालाई सबै मिलेर समाधान गर्नुपर्ने उनको भनाइ छ।
बंगलादेश चार्टर्ड एकाउन्टेन्ट्सका उपाध्यक्ष सबिर अहमदले कोभिडको महामारीपछि सम्पत्तीको मूल्यांकनमा समस्या थपिएको बताए। जोखिम व्यवस्थापन विभागले पनि यसका लागि धेरै हदसम्म काम गर्न नसक्ने उनको भनाइ छ। मौद्रिक स्थायित्व कायम गर्नुपर्ने उनले बताए।