नयाँ नक्सा संसदबाट सर्वसम्मत अनुमोदन, देशभर दिपावली |
काठमाडौं । काठमाडौं । प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ ।
मतदान हुने बेला संसदमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । र, संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
त्यसअघि दफावार छलफलमा प्रमुख दलका शीर्ष नेताहरुले भाग लिएका थिए । सत्तारुढ नेकपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधयक्ष प्रचण्डले संविधान संंशोधन गरेर नेपालले दुश्मनी चाहेको भन्ने अर्थ नलगाउन आग्रह गरे । कूटनीतिक र राजनीतिक सम्वादमार्फत यो समस्या सदाका लागि अन्त्य गर्न चाहेको उनले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय अखण्डताको मुद्दामा सरकारलाई सधैं समर्थन रहने बताए । राजपाका नेता राजेन्द्र महताले संविधानप्रतिको असन्तुष्टि थाती राखेर नक्सासम्बन्धी प्रस्तावलाई समर्थन गर्ने घोषणा गरे ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि संविधान संशोधन प्रस्तावको समर्थन गरे । सुगौली सन्धिभन्दा पछाडि हटेर महाकाली सन्धि गरिएको भन्दै उनले कांग्रेस र कम्युनिस्ट नेताहरुले माफी माग्नुपर्ने धारणा राखेका थिए ।
बैठकमा बोल्ने सबै सांसदले संशोधनको पक्षमा मत राखेका छन् र भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन अब गम्भीर पहल गर्नुपर्ने बताएका छन् ।
सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।
जम्मुकश्मीरबाट छुट्याएर लद्दाखलाई नयाँ राज्य बनाएको भारतले १६ कार्तिक २०७६ मा नयाँ नक्सा जारी गरेको थियो, जसमा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत समेटेको थियो । त्यसविरुद्ध नेपालमा प्रदर्शन चर्किन थालेपछि २० कार्तिकमा परराष्ट्र मन्त्रालयले एकपक्षीय रुपमा निकालिएको त्यो नक्सालाई अस्वीकार गरेको थियो । त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूतको ध्यानाकर्षण गराए ।
२३ कार्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकले लिम्पियाधुरा मुहान भएको काली नदी पूर्वको एक∕एक भू–भाग नेपालको भएको निष्कर्ष निकालेको थियो ।
त्यसको पर्सिपल्ट २५ कार्तिकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गर्न निर्देशन दिएको थियो । सीमासम्बन्धी अभियान्ताहरू पनि सरकारलाई त्यही दबाब दिइरहेका थिए ।
सरकार भने अझै पनि द्विपक्षीय समझदारीका लागि कूटनीतिक सम्वादको प्रयासमा रहृयो । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नक्सा छाप्नु ठूलो कुरा नभएको, अतिक्रमित भूमि फिर्ता ल्याउनु मुख्य काम भएको सार्वजनिक अभिव्यक्ति दिए ।
परराष्ट्र मन्त्रालयले कार्तिकयता सीमाको विषयमा तीनवटा कूटनीतिक नोट पठायो । प्रधानमन्त्री ओलीले विशेष दूत पठाउन चाहे तर भारतले नेपालको हरेक कूटनीतिक पहललाई बेवास्ता गर्यो् ।
त्यही बेला कोभिड–१९ को महामारी सुरु भयो । त्यही महामारीका बीच भारतले लिपुलेकमा नेपाली भू(भाग अतिक्रमण गरेर बनाएको मानसरोवर जाने सडक उद्घाटन गरेर सीमा विवाद बल्झायो । लकडाउनको बेवास्ता गर्दै नेपालीहरू भारतीय दूतावास घेराउ र प्रदर्शनमा उत्रिन थाले ।
नेपाल सरकारले भारतीय कदममा आपत्ति जनाउँदै वार्ताको आग्रह गर्दा कोभिड(१९ महामारीपछि भन्दै पन्छायो । नेपाली भूमि अतिक्रमण गरेर बनाएको सडक उद्घाटन गर्न महामारीले नछेक्ने तर नेपालसँग सम्वाद गर्न महामारी देखाएपछि नेपालमा झन् आक्रोश बढ्यो ।
नयाँ नक्सा जारी गर्न संसदीय समितिले दिएको निर्देशन किन कार्यान्वयन भएन भनेर संसदमा प्रश्न उठ्यो । संसदीय समितिले परराष्ट्र र भूमिसुधारमन्त्रीलाई बोलाएर लगातार दबाब दियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूका अनुसार सरकार अझै पनि सम्वादकै पक्षमा थियो । भारत सम्वादमा आइहाले नक्साको कुरा मिलाउने आशामा थियो, सरकार । तर, भारतले सम्वादको साटो आफ्ना सेना प्रमुखलाई ‘चिनियाँ उक्साहट’ भनेर बोल्न लगायो ।
परिणाम, २ जेठको नेकपा सचिवालय बैठकले नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय लियो । सचिवालयका एक नेताका अनुसार सरकारको नीति तथा कार्यक्रम टाइप भइरहेको ठाउँमा रहेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर त्यसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गर्ने बुँदा थप्न लगाइएको थियो । नीति तथा कार्यक्रम आएको तीन दिनपछि सरकारले मन्त्रिपरिषद्बाटै औपचारिक निर्णय गरेर ७ गते पश्चिममा लिम्पियाधुरासम्म फैलिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।
देशभर दीपावली
कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा आज देशभर दीप प्रज्वलन गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले दुई तिहाइभन्दा बढी मतले सोसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।
दमौली– नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशियालीमा आज तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेको हो ।
भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै नेपाल कम्युनिष्ट पार्टीले दमौलीस्थित मुख्यचोकमा दीप प्रज्वलन गरेको हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले संविधान संशोधन विधेयक पारित भएका दिन नेपाली जनताका लागि गर्वको दिन रहेको बताउँदै भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन नेपाली जनता एकजुट हुनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एकबहादुर रानाले भारतसँग कूटनीतिक वार्ता गरेर गुमेको भूमि फिर्ता गर्नुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले राष्ट्रियताका सवालमा सबै दलबीच अभूतपूर्व एकता कायम भएकाले अतिक्रमित भूमि फिर्ता ल्याउन पनि सबै दल एकजुट हुनुको विकल्प नरहेको बताए । राष्ट्रिय जनमोर्चा तनहुँका सचिव पुष्पलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि लड्न सबै नेपाली तयार हुनुपर्ने बताए ।
नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा जिल्लाका दशवटै स्थानीय तहमा दीप प्रज्वलन गरिएको जानकारी दिए । कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटर जारी गरिएको नेपालको नयाँ नक्शा र निशान छापको अद्यावधिकका लागि आज गरिएको नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा स्याङ्जामा दिपावली गरिएको छ ।
जिल्ला सदरमुकामस्थित शहिद चोकमा दिपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष सूर्यप्रसाद गैह्रे पारले जानकारी दिए । यसैगरी वालिङ उद्योग वाणिज्य सङ्घले पनि दिपावली गरेको छ । जिल्लाका सर्वसाधारण एवं विभिन्न सङ्घसंस्थाले समेत आज प्रतिनिधिसभाबाट सर्वसम्मतरुपमा नेपालको संविधानको दोस्रो संशोधन पारित भएर भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्शाका साथै निशान छाप संविधानमा समेट्नका लागि गरिएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको खुशियालीमा जिल्लामा दिपावली गरेका हुन् ।
विराटनगरमा पनि दिपावली
विराटनगर । प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चोकमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।
राष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन मोरङद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेतीलगायत नेता कार्यकर्ताले नेपालको नक्शामा मैनबत्ती बाली दीप प्रज्वलन गरेका थिए ।
सो अवसरमा सर्वसाधारणले पनि दीप प्रज्वलन गरेका थिए । यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि, वरागाछीसमेतमा नक्शा अङ्कित निशान छाप पारित भएको खुशीमा दीप प्रज्वलन गरिएको छ । खुशियाली मनाउन सर्वसाधारण नागरिकले आफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।
त्यस्तै, नेपालको नयाँ राजनीतिक नक्शालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको खुशीयालीमा नेकपा बाजुराले मार्तडीमा दीप प्रज्वलन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेतासहित युवाहरुले नेपालका लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्शामा समावेश भएको विधेययक प्रतिनिधिसभाबाट पारित भएपछि बेलुकी जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको नेकपा प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिए ।
यता काभ्रेको बनेपा– राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको राजनीतिक एवं प्रशासनिक नक्शा संसद्बाट पारित भएको खुशीयालीमा काभ्रेपलाञ्चोकको बनेपामा दीप प्रज्वलन गरिएको छ ।
दुवै कमिटीले बनेपा चारदोबाटोमा बेलुका दीप प्रज्वलन कार्यक्रम गरी खुशीयाली मनाएका हुन् । कार्यक्रममा सहभागीले राष्ट्रय झण्डा फहराएर लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई तत्काल फिर्ता गर्न भारत सरकारसँग माग पनि गरेका छन् ।
त्यस्तै नक्शालाई संविधानको अनुसूचीमा राख्ने प्रस्ताव प्रतिनिधिसभाले आज पारित गरेको खुशीयालीमा रुपन्देहीमा पनि दीप प्रज्वलन गरिएको छ । बुटवलको ट्राफिकचोकमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आह्वानमा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य दधिराम न्यौपानेले अब कालापानीबाट भारतीय सेनालाई हटाउन भारतसँग कूटनीतिक वार्ता गर्न आवश्यक रहेको बताए ।
नेकपा रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले राष्ट्रिय एकताको पहल गरेकामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरे । पार्टी तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईँले अब राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउँदै अगाडि बढ्नुपर्ने बताए ।