अमेरिकामा कोरोनाको दोश्रो संक्रमण फैलने डर, अस्पतालका वेड र आईसियू भरिन थाले |
टेक्सस र एरिजोनासहितका आधा दर्जन अमेरिकी राज्यहरूमा बढिरहेका कोरोना संक्रमितले त्यहाँका अस्पतालका बेडहरू भरिन थालेको छ । अमेरिकामा पुनः खोलिएको अर्थ व्यवस्थाले दोश्रो चरणको कोरोना महामारीको खतरालाई बढाएको रोयटर्सले जनाएको छ ।
महामारी पुनः फैलिने चिन्ताले बिहीबार विश्व सेयर बजारमा तीव्र गतिको गिरावट आएको छ। यस्तो अवस्था यसअघि महामारी शुरू भएपछि मार्चमा देखिएको थियो ।
हालैका दिनमा अमेरिकाका करिब दर्जन राज्यहरूमा देखिएको संक्रमणको वृद्धिले आंशिकरूपमा कोरोना परीक्षणमा वृद्धिको संकेत गरेको छ । ती राज्यहरूमा अस्पताल भर्ना हुने संख्यामा वृद्धि देखिनुको साथै आईसियूको अभाव हुन थालेको छ ।
पछिल्ला तीन दिनमा टेक्ससमा अस्पताल भर्ना हुनेदरमा रेकर्ड कायम भएको छ भने अर्को अमेरिकी राज्य नर्थ क्यारोलिनामा कोरोनाका कारण हाल १३ प्रतिशत मात्र आईसियू उपलब्ध भएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
बढ्दो संक्रमणलाई ध्यानमा राख्दै ह्यूटस्टनका मेयरले आफूहरू एनएफएल रंगशालालाई अस्पतालमा परिणत गर्न तयार भएको जनाएका छन् ।
यस्तै एरिजोना राज्यमा कीर्तिमानी संख्यामा कोरोनाका विरामी अस्पताल भर्ना भएका छन् ।
सो राज्यका स्वास्थ्य निर्देशकले यसै साता त्यहाँका अस्पतालहरूलाई आपतकालिन योजनालाई सक्रिय बनाउन र आईसियू क्षमता बढाउन भनेका थिए । हालसम्म त्यहाँका अस्पतालका तीन चौथाइ आईसियू वेडहरू भरिसकेको राज्यको वेबसाइटले जनाएको छ ।
’एरिजोनामा थ्रेसहोल्ड पार भइसकेको छ’, युनिभर्सिटी अफ वासिङ्टनका महामारी विज्ञ जारेड बेइटनले भने, ’पहिलो नै संक्रमण उच्च बिन्दुमा पुगेका र क्रमशː घट्न थालेका ठाउँमा संख्या बढ्नु चिन्ताजनक हो ।’
न्यू योर्क र उत्तरपूर्वि राज्यहरूमा देखिएको नयाँ संक्रमण संख्या र मृत्युलाई संकेत गर्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।
स्वास्थ्य विज्ञहरूले देशमा जारी प्रदर्शनहरूले यसलाई थप बढाउनसक्ने चिन्ता व्यक्त गरेका छन् ।
एरिजोना, उटाह र न्यू मेक्सिको लगायतका राज्यले आफूकहाँ जुन ७ सम्म अघिल्लो साताको दाँजोमा नयाँ संक्रमित ४० प्रतिशतले बढेको जनाएका छन् । फ्लोरिडा, आर्कान्सा, साउथ क्यारोलिना र नर्थ क्यारोलिनामा गत साता संक्रमित ३० प्रतिशतले बढेका छन् ।
अमेरिकाको कोरोना महामारीविरूद्धको लडाईंको अग्रमोर्चामा रहेका डा. एन्थोनी फाउची प्रतिबन्ध हटाउनुको अर्थ अझ बढी संक्रमित र मृत्यु भएको बताएका छन् ।
’समग्रमा हाम्रा केसहरू तल झरिरहेका छन् ’, फाउचीले भने, ’तर तपाईंले भन्नु भएका संक्रमण बढिरहेका राज्यले भने मलाई एकछिन गम खुवाउँछ र चिन्तित बनाउँछ ।’
हालसम्म अमेरिकामा कोरोनाका कारण १ लाख १३ हजार मानिसहरूको मृत्यु भइसकेको छ जुन संसारमै उच्च हो ।
यो संख्या सेप्टेम्बरको एक बिन्दुमा २ लाख पुग्ने हावर्डको ग्लोबल हेल्थ इन्सिटयूटका अमेरिकी विज्ञ आशिष झा बताइसकेका छन् ।
अमेरिका स्वास्थ्य विज्ञहरूले मास्कको प्रयोग र भौतिक दुरीले संक्रमणलाई धेरै घटाउन सहयोग गर्ने भएकाले आममानिसलाई यसमा ध्यान दिन जोड दिएका छन् ।