अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा आगो लगाएका युवकको मृत्यु |
अछाम । अछामको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको आज उपचारको क्रममा मृत्यु भएको छ ।
साँफेबगर नगरपालिका–६का सिद्धार्थ आउजीको सोमबार साँझ कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको छ ।
साँफेबगरकी उपमेयर बीरमलादेवी बुड्थापाले पनि आफूले ती युवकको मृत्यु भइसकेको खबर पाएको बताइन् ।
सोमबार बिहान साढे आठ बजे आउजीले बयालपाटा अस्पताल परिसरमा आफैंमाथि आगो लगाएका थिए । उनी सो अस्पतालका सरसफाइ गर्ने कर्मचारी थिए ।
आगो लागेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि हेलिकप्टरबाट कोहलपुर लगेको थियो ।