जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय, सेना पनि परिचालन गर्ने | विमानस्थल असार १६ गतेसम्म बन्द, लकडाउनको मोडालिटी हेरफेर हुनसक्ने
काठमाडौं । आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्रा्ष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।
यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ ।