कोरोना संक्रमणका कारण ललितपुर निवासी ५७ वर्षिय पुरुषको मृत्यु, मृतक संख्या ५ पुग्यो |
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
ललितपुर महानगरपालिका–२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।
डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो ।
किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो । सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो ।
‘भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । तर बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उहाँको डेथ भयो,’ किष्टमा कार्यरत एक चिकित्सकले भने ‘अहिले ८ बजे रिपोर्ट पोजेटिभ आयो ।’
ती चिकित्सकका अनुसार, कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ । कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।