आइतबार १९ जना संक्रमित थपिए, संक्रमितको संख्या ६ सय ३ पुग्यो |

काठमाडौं । देशभरिमा आइतबार १९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ३ पुगेको छ ।
आइतबार थपिएका संक्रमितहरूमा रुपन्देहीका ६ जना, पर्साका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौं, झापा, बारा, रौतहट, सर्लाही, नुवाकोट र गुल्मीका एक∕एक जना छन् ।
यीमध्ये नुवाकोटमा पहिलोपटक संक्रमण देखिएको हो । जिल्लाको ककनी गाउँपालिका–३ का स्थानीय पुरुषमा संक्रमण देखिएपछि उनी टेकु अस्पताल भर्ना भएका छन् ।
१९ जना संक्रमित थपिँदा १८ जना निको भएर घर फर्किएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरू आइतबार राति डिस्चार्ज भएका हुन् । उनीहरू सबै पर्साका हुन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । जसमा सिन्धुपाल्चोक, गुल्मी र बाँकेका एक∕एक जना हुन् ।