कोरोनाविरुद्ध लड्न इजरायलले बनायो राष्ट्रिय सरकार, नेतान्याहु पाँचौपटक प्रधानमन्त्री | आलोपालो नेतृत्व गर्ने सहमति
काठमाडौं । कोरोना भाइरस संकटका बीच बेन्जामिन नेतान्याहु एक पटक फेरि इजरायलको प्रधानमन्त्री बनेका छन् । भ्रष्टाचारको आरोप लाग्दा र तीन पटकको चुनावमा बहुमत नपाउँदा पनि उनले राजनीतिक गठबन्धनको आधारमा फेरि प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् ।
नेतान्याहुले पाँचौ पटक प्रधानमन्त्री बन्ने अवसर पाएका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो लगातार चौथो कार्यकाल हो । नेतान्याहु सबैभन्दा पहिले १८ जुन १९९६ देखि १९९९ सम्म प्रधानमन्त्री बनेका थिए । दोस्रो कार्यकाल ३१ मार्च २००९ देखि १८ मार्च २०१३ सम्म थियो । तेस्रो कार्यकाल १८ मार्च २०१३ देखि ६ मे २०१५ सम्म र चौथो कार्यकाल ६ मे २०१५ देखि ९ अप्रिल २०१९ सम्म थियो ।
इजरायलको पछिल्लो चुनावमा नेतान्याहुको पार्टी लिकुड र विपक्षी नेता बेनी गात्जको पार्टी ब्लु एण्ड ह्वाइट दुवैले बहुमत पाउन सकेका थिएनन् । तर दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार मिलिजुली सरकार गठन गरेका छन् ।
दुवै नेताहरुले कोरोना कहरको बेला देशलाई स्थीर सरकार चाहिएकाले यो गठबन्धन जरुरी रहेको बताएका छन् । बीबीसीका अनुसार लिकुड पार्टीका नेता नेतान्याहु र विपक्षी ब्लु एण्ड ह्वाइट पार्टीका नेता बेनी गात्जले सरकार चलाउने विषयमा १४ पृष्ठ लामो सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार दुई नेताहरुले आलोपालो सरकार चलाउने छन् । सुरुको १८ महिना नेतान्याहु प्रधानमन्त्री हुने छन् भने गात्ज रक्षामन्त्री बन्ने छन् । गात्ज पूर्वसेना प्रमुख हुन् ।
नेतान्याहुको कार्यकाल सकिएपछि गठबन्धन तोडेर फेरि चुनाव घोषणा गर्न नपाइने सहमति पनि भएको छ । नेतान्याहुविरुद्ध उच्च अदालतमा जारी भ्रष्टाचार मुद्दामा आरोप प्रमाणित भए पनि गात्जले नेतान्याहुलाई हटाउन पाउने छैनन्, त्यसका लागि सर्वोच्च अदालतको फैसला कुर्नुपर्ने छ ।
विपक्षी नेता गात्ज इजरायलको पूर्व सेना प्रमुख हुन् । नेतान्याहुलाई चुनावमा हराउन उनले दक्षिणपन्थी र उदार दुवै नीतिको सहारा लिएका थिए । चुनावको बेला उनले नेतान्याहुलाई लागेको भ्रष्टाचार आरोप लगातार उठाइरहे । उनले नेतान्याहुसँग मिलेर सरकार नबनाउने घोषणासमेत गरेका थिए । तर उनले यो वाचा देशको हितका लागि भन्दै तोडेका छन् ।
बीबीसीसँगको कुराकानीमा इजरायलका राजनीतिक विश्लेषक योहानन प्लेसनेरले यस गठजोडलाई ‘लोकतान्त्रिक युद्धविराम’ भनेका छन् ।