स्वास्थ्य सेवा विभागले किनेको एक लाख थान आरटीडी किट काठमाडौं आइपुग्यो |

काठमाडौं । कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो ।
स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र खरिदका लागि बीआईडीएच म्यानेजमेन्ट (विद) प्रालिलाई जिम्मा दिएको थियो । यही वैशाख १८ गते सामान आयातका लागि आवश्यक सहजीकरण गरिदिन भन्दै स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो ।
उक्त किट आयातका लागि यही वैशाख १७ गते सम्झौता भएको थियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले कोरोना परीक्षणका लागि आवश्यक किट आइपुगेको जानकारी दिए । उनले भने, ‘सामान आइपुगेको छ, भन्सार लगायतका प्रक्रिया पूरा गर्न गर्न नभ्याएका कारण मंगलबार सो कार्य सम्पन्न गरी आवश्यक स्थानमा पुर्याइनेछ ।’ सम्झौतामा तोकिएको समयभन्दा अगावै ती किट आइपुगेका हुन् ।
विभागले विभिन्न २४ कम्पनीसँग किट खरिद तथा आयातका लागि प्रस्ताव माग गरेको थियो । सो कम्पनीले चीनको लिपु मेडिकल टेक्नोलोजी बेइजिङबाट ती सामान ल्याएको हो । प्राप्त विवरणअनुसार ती किट प्रति थान रु ५६५ मा ल्याइएको हो । कोरोनाको परीक्षणको दायरा बढाउनका लागि किट अत्यावश्क रहेकाले आयात गरिएको हो ।