लाइसेन्स छपाइ दैनिक तीन सिफ्टमा चल्दै, प्रतीक्षा सूचीका सबैलाई दिने यातायातको तयारी |
काठमाडौं । ट्रायल पास गरेर लाइसेन्सको प्रतीक्षामा बसेकाहरूले लकडाउन खुलेलगत्तै पाउने भएका छन् । स्थिति सामान्य हुनेबित्तिकै दैनिक एक लाख जनाभन्दा बढीले लाइसेन्स पाउनेगरि काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।
कार्ड छाप्न नसकेर सर्वसाधारणलाई रसिद बोकेर हिड्न बाध्य पारेको विभागले बल्ल आएर छपाइ कार्यलाई तीव्रता दिएको हो । लकडाउनको करीब दुई साता रोकेको छपाइ तेस्रो साता एक सिफ्ट र यतिबेला तीन सिफ्टमा गरिरहेको छ । विभागले यतिबेला नयाँ आवेदन लिने र नवीकरणको काम गर्नु परेको छैन । प्रक्रिया पूरा गरेर पनि जतिले पाउन बाँकी थियो, उनीहरूका लागि कार्ड छापिरहेको छ ।
‘बीचमा दुई हप्ताजति आज खुल्ला भोलि खुल्ला भनेर शुरु गरिएन । लकडाउन लम्बिने भएपछि हामीले छपाइ शुरु गर्यौं,’ विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘अहिले हामीसँग भएका मेसिनहरु फुलफ्लेजमा चलेका छन् ।’
प्रत्येक सिफ्ट ६ घण्टाको छ । ४ घण्टा लाइसेन्स छापेपछि करीब एक घण्टा मेसिनलाई आराम दिइन्छ । यसैले तीन सिफ्टको १८ घण्टामा १४ घण्टाजति मात्रै मेसिन चलाउन सकिने विभागका अधिकारीहरुको भनाइ छ ।
अहिले मास प्रिन्टरमार्फत छपाइ भइरहेको छ । विभागसँग एउटा मास प्रिन्टर, ७ लाख कार्ड र चारवटा साना मेसिन छन् । तीन सिफ्टमा गरि करीब पाँच हजार लाइसेन्स दैनिक छपाइ भइरहेको छ । मेसिन एक सिफ्ट मात्र चलाउँदा दुई हजार प्रति हाराहारी छपाइ हुने गरेको थियो । हमालका अनुसार, लकडाउनकै बीच विभागले ८० हजार हाराहारी लाइसेन्स छापिसकेको छ ।
‘अहिले नयाँ माग हुने अवस्था नभएकाले यो हाम्रा लागि छाप्न बाँकी काम सक्ने अवसर पनि हो । यही आर्थिक वर्षमा शून्यमा झार्ने लक्ष्यअनुसार लागेका छौं,’ उनले भने, ‘लकडाउनमै कम्तिमा डेढ लाख ब्याक–लग घट्छ । यो आर्थिक वर्ष्भित्र ती सबैले लाइसेन्स पाउँछन् ।’
विभागले आगामी वर्षका लागि कार्ड र प्रिन्टर खरिद गर्ने तयारी पनि थालेको उनले बताए । सवारी ट्रायल पास गरेर बसेका करीब साढे तीन लाखजना लाइसेन्स कुरेर बसेका छन् ।