भोली मंगलबारदेखि खुल्दै सेयर बजार, २ प्रतिशत घटबढ हुँदा सर्किट लाग्ने, भुक्तानी विद्युतीय माध्यमबाट |
काठमाडौ । चैत्र ११ गते देखि बन्द भएको सेयरबजार बैशाख ३० गते मंगलबारदेखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सूचना जारी गर्दै कार्यालयहरु आइतबारदेखि र सेयर कारोबार मंगलबारदेखि खोल्न निर्देशन दिएको छ ।
बोर्डले नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर र ब्रोकरसँगको छलफलपछि धितोपत्रको दोस्रोबजार कारोबार खोल्ने निर्णय गरेको जनाएको छ ।
अहिलेका लागि बजार दैनिक दुई घण्टा ११ बजेदेखि १ बजेसम्म मात्रै खुल्ला हुनेछ । दिनमा ३ प्रतिशतभन्दा बढी परिवर्तन नहुने गरि कारोबार गर्ने व्यवस्था गरिएको छ ।
कारोबारको रकम अनिवार्य रूपमा विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने र साउन १ गतेपछि कारोबार पनि अनिवार्य रूपमा अनलाइन माध्यमबाट गर्नुपर्ने बोर्डले जनाएको छ ।
लगानीकर्ताले अनिवार्य रूपमा ’मेरो सेयर’बाट राफसाफ गर्नुपर्ने र असारसम्म मेरो सेयरको खाता खोल्दा शुल्क नलाग्ने पनि बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
धितोपत्रको कारोबारसँग सम्बन्धित कार्यालय खोल्दा एक तिहाइ कर्मचारीमार्फत आलोपालो गरि खोल्न बोर्डले निर्देशन दिएको छ ।
त्यस्तै एक तिहाइ कर्मचारीको लागि एक चौथाई सवारीलाई मात्र बोर्डले पास दिने जनाएको छ। त्यसका लागि कार्यालय प्रमुखले सवारी साधनको विवरण बोर्डमा दिनु पर्नेछ ।
लगानीकर्तालाई पनि पास चाहिएमा ब्रोकरको सिफारिसमा एकपटकका लागि पास उपलब्ध गराउने बोर्डले जनाएको छ ।