‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ अत्यधिक रुचाइयो (भिडियो) |
लण्डन । ‘सन्डे मार्निङ लभ यू’ गीतबाट चर्चित भएका गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई मन्त्रमुग्ध पारेका छन् ।
५४ वर्षीय भीम निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा सो गीत गाएका हुन् । भीमले गीत गाएको केही सेकेन्डभित्र निर्णायकमध्येका एक कोवेलले असन्तुष्टि व्यक्त गर्दै बजर दबाए पनि दर्शक दीर्घाले उनको प्रस्तुतीलाई हात बजाएर स्वागत गर्यो ।
त्यसपछि कार्यक्रमका उद्घघोषकलगायत निर्णायक मण्डलका सदस्य गीतमा रमाउन थालेपछि निरौला सबैको नजरमा तानिए । निर्णायक अमाण्डा होल्डेनलगायतका सबैजना उनको गीतमा रमाएको र दर्शकको साथ देखेपछि निर्णायक साइमन चकित परेको देखिन्छन् ।
निरौला अहिले बेलायती मिडियामा ‘सिक्रेट युट्युब एण्ड रियालिटी स्टार’ को रुपमा परिचित भएका छन् ।
‘ब्रिटेन्स गट ट्यालेन्ट’का बिजेताले शाही परिवारका सामुन्ने सांगीतिक प्रस्तुती दिन पाउनुका साथै दुई लाख ५० हजार पाउण्ड प्राप्त गर्नेछन् ।
सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका निरौला पेशाले होटल म्यानेजर हुन् ।
धनकुटा जिल्लामा जन्मिएका निरौलाले बि.स.२०४४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा गरेका छन् । उनले ५ दर्जनभन्दा बढी गीत गाइसकेका भए पनि उनलाई चर्चामा पुर्याउन सफल गीत ‘सन्डे मार्निङ लभ यू’ नै हो ।
सन् २०१३ मा युट्युबमा अपलोड गरिएको उनको यो गीत ६० लाख भन्दा बढीले हेरिसकेका छन् ।
सामान्य र सबैले बुझ्न सक्ने खालको गीत भएको र अंग्रेजी भाषामा भएकोले विदेशीहरुले पनि मन पराएको निरौलाले बताएका छन् ।