१०२ नेपाली भारतको क्वारेन्टाइनमा २५ दिन बसेर स्वदेश फर्किए |
बुटवल । भारतीय क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीहरूलाई स्वदेश फर्काउन शुरु गरिएको छ । सीमा क्षेत्रको क्वारेन्टाइनमा तीन सय ४१ नेपाली छन् । तीमध्ये शुक्रबार १०२ जनालाई नेपाल ल्याइएको छ ।
पहिलो दिन कोरोना भाइरस परीक्षण गर्न समय लाग्ने भएकाले कम ल्याइएको र शनिबार बिहानैदेखि बाँकी नेपालीलाई ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । ‘उनीहरूलाई सीमा नाका बेलहिया ल्याएर कोरोना परीक्षण गरेपछि मात्र सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर घर पठाउछौँ,’ उनले भने ।
३४१ जना भारतको इन्टर कलेज नौतनवा, मोर्डन कलेज नौतनवा, सिटी होस्टल सुनौली बाइपास र सुवास बोस जुनियर इन्टरकलेज सुनौलीमा थिए ।
प्रदेश सभा सदस्य सन्तोष पाण्डेले तीन चरणमा गरी उनीहरूलाई नेपाल भित्र्याइने जानकारी दिए । नेपाल ल्याइएकाहरूको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाइने र पोजेटिभ देखिए यतै आइसोलेसनमा राखी थप उपचारको व्यवस्था गरिने पाण्डेले बताए ।
रुपन्देही, अर्घाखाँची, पाल्पा, चितवन, तनहुँ, बारा, कपिलवस्तु, प्युठान, धादिङ, बाग्लुङ, स्याङ्जा, जाजरकोट, खोटाङ, बाँके, मोरङ, सुनसरी र पूर्वीनवलपरासी गरी १८ जिल्लाका नागरिक छन् । यसमध्ये धेरै गुल्मी र अर्घाखाँचीका छन् ।