मध्यरातमा समाजवादी र राजपाबीच एकता, नयाँ पार्टीको नाम ‘जनता समाजवादी’ |
काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।
लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।
प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार राति नै एकता घोषणा गरेका हुन् ।
समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका हुन् ।
राजपाकी वरिष्ठ नेता निर्जला राउतको भैसेंपाटीस्थित घरमा बसेको दुई पार्टीको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । एकताको चार बुँदे सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् । समाजवादी पार्टीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
राजपा अध्यक्ष मण्डलका सदस्यहरू अनिल झा र राजकिशोर यादव भने एकता प्रक्रियामा उपस्थित थिएनन् । उनीहरू काठमाडौं बाहिर रहेकाले एकता प्रक्रियामा सहभागी नभएको राजपा महासचिव केशव झाले बताए ।
पार्टी एकता समानताको आधारमा गरिने सहमति भएको छ । समाजवादी पार्टीमा १७ जना सांसद छन् भने राजपासँग १७ जना सांसद छन् । राजपाका १७ सांसदमा रेशम चौधरी निलम्बनमा छन् ।
हेर्नुस् पार्टी एकताको सहमती पत्र