कोरोनामुक्त भएर खुसी हुँदै घर गइन बागलुङकी वृद्धा , ३ जनाले जिते कोरोना |

काठमाडौं । कोरोनामुक्त भएर बागलुङकी ६५ वर्षीय वृद्धा अस्पतालबाट डिस्चार्ज भएकी छिन् । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको केही घण्टापछि उनी डिस्चार्ज भएकी हुन् । डिस्चार्जपछि उनी खुसी हुँदै घर गएकी छिन् ।
उनमा बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको पुष्टि भएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए । चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।
आजै टेकु अस्पतालमा उपचाररत काठमाडौंकी १९ वर्षीया युवती पनि कोरोना मुक्त भएर घर फर्किएकी थिइन् । त्यसअघि १ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।