लकडाउन वैशाख १५ गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय | भारतसँगको सीमानामा आवतजावत अनिश्चितकालका लागि बन्द

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दैस सरकारले चैत ११ देखि लकडाउन गरेको हो । शुरुमा एक हप्ताका लागि गरिएको लकडाउन बढाउँदै वैशाख ३ गतेसम्म कायम राखिएको थियो ।
लकडाउन सकिनु एक दिनअघि बसेको मन्त्रिपरिषद बैठकले थप १२ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनको समयमा खाद्यवस्तु किन्न र आकस्मिक कामले अस्पताल जान दिने तर अन्य कामका लागि बाहिर निस्कन प्रहरीले रोक्ने गरेको छ ।
सिमा नाका अनिश्चितकालका लागि बन्द
सरकारले भारतसँगको सीमाना अनिश्चितकालका लागि आवतजावत बन्द गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले मालसामान ल्याउने बाहेक अरु आवतजावत बन्द गर्ने निर्णय गरेको हो । भातरसँगको सीमानामा अझै कडाई गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
‘भारतमा कोरोना भाइरस धेरै फैलिएको छ । त्यहाँ सामान्य नभएसम्म सीमाना खोल्नु हुँदैन, भारतको जनसंख्या ठूलो भएकाले पनि हामीले ध्यान दिनुपर्छ’ ती मन्त्रीले भने, ‘सीमामा सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।
सरकारले यसअघि नै अन्तर्रा्ष्ट्रिय उडानमा वैशाख १८ गतेसम्मको लागि बन्द गराइसकेको छ।