तीन भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएलगत्तै बीरगञ्जको छपकैया क्षेत्र सिलबन्दी |

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–२ छपकैया क्षेत्रलाई सिलबन्दी गरेको छ । छपकैयास्थित मस्जिदमा रहेका ३ भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै सो क्षेत्रमा सिलबन्दी गरिएको हो ।
आइतबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जिल्ला सुरक्षा समितको बैठकका निर्णयहरु एक विज्ञप्तीमार्फत सार्वजनिक गर्दै छपकैयामा रहेका मस्जिद तथा उक्त क्षेत्रमा रहेका समुदायको बाक्लो बसोबासलाई समेत केन्द्रीत गरी उक्त वडा र यसको वरिपरि रहेका वडाका भागहरुलाई सिलबन्दी गरिएको जानकारी दिएका छन् । विज्ञप्तीमा छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा नम्बर १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरुलाई समेटिने गरी सिलबन्दी गरिएको जनाइएको छ ।
बैठकले कोभिड १९ संक्रमण पत्ता लगाउन र्यापिड टेस्टलाई तिव्र गतिमा अघि बढाउने निर्णय समेत गरेको विज्ञप्तिमा जनाइएको छ । त्यस्तै कोरोना संक्रमण पोजेटिभ देखिएका तीनै जनाले संसर्ग गरेका व्यक्ति र निजहरु गएको स्थान पहिचान गरी कन्ट्रयाक्ट ट्रयाकिङ गर्ने कामलाई तिब्रता दिने र संक्रमण फैलिन नदिने उद्देश्यका साथ बिरामीहरुको व्यवस्थित रुपमा उपचार गर्न बीरगञ्जमा विशेष अस्पताल निर्माण गर्ने निर्णय समेत बैठकले गरेको विज्ञप्तिमा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण देखिएका व्यक्तिहरुको उपचार सुरु भैसकेकोले कसैलाई नआतिन तथा लकडाउनको पालना गर्दै घरमा बसिदिन सबैमा अनुरोध समेत गरेको छ । पर्सामा आइतबार भारतको उत्तर प्रदेश ठेगाना भएका ५५, ३३ र ४४ वर्षका तीन जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।