उल्टियो सरकारको निर्णय, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने |

काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन ।
कोरोना भाइरस -कोभिड-१९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका छन् । त्यसलाई हेरेर सरकारले उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने गृहकार्य गरेको थियो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिन निर्देशन दिए । कसरी जान दिने भन्ने गृहकार्य गर्न गृह सचिवलाई भनिएको थियो ।
तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।
यातायात व्यवसायीहरुले पनि भोलि र पर्सि पठाउन सम्भव नभएको बताएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने, ‘अहिलेलाई यो सम्भव भएन भनेर बुझ्नुपर्यो ।’