मनाङमा रहेका पर्यटक फर्किन मानेनन् आफ्नो देश, भन्छन – नेपालमै सुरक्षित छौं |
काठमाडौं । मनाङ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।
उनका अनुसार ती पर्यटकमा अमेरिका, नेदरल्याण्ड, अर्जे्न्टिना, जर्मन, इजरायल लगायतका युरोपियन देशका रहेका छन्। माथिल्लो मनाङ, पिसाङ, चामे, तिमाङ, धारापानीलगायतका ठाउँमा ती पर्यटक बस्दै आएको बताइएको छ ।
आफ्नो देशमा भन्दा कोभिड–१९ को जोखिम नेपालमा कम भएकाले ती पर्यटक स्वदेश फर्किन नमानेको बताइएको छ । नार्पाभूमि गाउँपालिकामा रहेका विदेशी नागरिकको तथ्याङ्कसमेत निकाल्न नसकिएको र सम्पर्कसमेत हुन सकेको छैन ।
तिलिचो वेसक्याम्पतिर कति विदेशी नागरिक रहेका छन् भन्ने यकिन नभएको प्रजिअ पौडेलले बताए । ‘विदेशी नागरिकले आफ्नो देश भन्दा नेपाल सुरक्षित रहेको बताउनुहुन्छ, त्यसैले हामी स्वदेश फर्किदैनौं, हाम्रो देशमा कोभिडको जोखिम बढी छ, नेपालमा हामी सुरक्षित छौं भन्ने गर्नुहुन्छ,’ उनले भने ।
सो भाइरसको जोखिम नेपालमा कम रहेको र यहाँ संक्रमण फैलिन समेत नसक्ने अमेरिकन नागरिक डेभिडको भनाइ छ ।
‘हामी नेपालमा सुरक्षित छौं’ उनले भने ।
Visited 1 times, 1 visit(s) today