अमेरिकामा रहेका ५०० नेपालीमा कोरोनाको संक्रमण |

अमेरिकामा रहेका करिब पाँच सय नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । करिब ५०० कोरोना भाइरसबाट संक्रमित भएको जनाइए पनि यसको स्वतन्त्ररूपमा पुष्टि भने हुन सकेको छैन ।
अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट नेपालीमूलका अनिल लिम्बूको गत साता न्यू योर्कमा निधन भएको थियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सक डा. केशव पौडेलका अनुसार करिब ५०० नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनले अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्याधिक रहेको बताए ।
कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ ।
’अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको छ’, उनले भने ।
उनले त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको जानकारी दिए । यसैगरी एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाले अनौपचारिक तथ्यांक केलाउँदा करिब ५ सय जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको बताए ।
’हामीले अनौपचारिक तथ्यांक संकलन गरेका छौँ, यसरी तथ्यांक केलाउँदा करिब ५०० कोरोना भाइरसको संक्रमित भएको देखिएको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन्’, उनले भने ।
सापकोटाका अनुसार अमेरिकामा आफ्नो स्वास्थ्य अस्वस्थाका बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्यांक पत्ता लगाउन कठिन हुने बताए ।
अमेरिकामा रहेका कति नेपाली संक्रमित छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् । अमेरिकामा ३०० रजिष्टर्ड नर्स आबद्ध रहेको सान सोसाइटी अफ अमेरिकन नेप्लिजकी अध्यक्ष मञ्जु सङ्ग्रौलाले दिएको जानकारी अनुसार संस्थासँग आबद्ध नर्सहरु सबै ‘एक्टिभ ड्युटी’मा रहेका छन् ।
यसैगरी अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ ।
अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको जानकारी दिएका छन् ।
अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशंका रहेको छ ।अमेरिकाको राज्यसभाको विधायकमा निर्वा्चित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताए ।
भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट संक्रमित भएको रिपोर्ट आएको जानकारी दिए ।
भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको संक्रमण परीक्षणका लागि सहयोग गरेको बताए ।
संघीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उनको भनाइ छ ।भण्डारीले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहेका छन् ।
यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो ।
नेपालीहरु अमेरिकाको न्यू योर्क, क्यालिफोर्निया, न्यू जर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्यांक छ ।
यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जि्निया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् ।
अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने मुख्यरूपमा न्यू योर्कमा बढी देखिएको। न्यू योर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्यांक रहेको छ ।
तर संघीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने भण्डारीले बताए ।
भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेको जानकारी दिए ।
नागरिक अगुवादेखि नेपाली दूतावासका प्रतिनिधि र अमेरिकाका जनप्रतिनिधिसमेत सबैले एकै स्वरमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको मार्ग्निर्देशनहरु अक्षरशः पालना गर्न समुदायमा अपिल गरेका छन् ।
(राससका लागि मधुकर अधिकारी)