कोरोना संक्रमित थप भएपछि धनगढी उपमहानगरको एक्सन ː आजदेखि सबै पसल बन्द |
कैलाली । कोरोना संक्रमित थपिएसँगै आजदेखि धनगढीमा दैनिक उपभोग्य सामाग्रीका पसल पनि बन्द भएका छन् ।
धनगढी उप–महानगरपालिकाले आजदेखि लागू हुने गरी सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको हो । ’विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाउन आवश्यक छ,’ उपमहानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’यसको जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठुलो मानवीय क्षति निम्त्याउने खतरालाई बुझेर उपमहानगरको श्रोत साधनले भ्याएसम्म सतर्कताको पूर्वतयारीमा जुटेको व्यहोरा सादर निवेदन गर्दछौं ।’
उप–महानगरपालिकाले विज्ञप्तीमा थप भनिएको छ, ‘आइतवार बिहानै देखि लागु हुने गरी सम्पूर्ण खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामाग्रीका पसलहरु, सबै किसिमका सवारी साधनहरु पूर्ण रुपमा बन्द गरेर सहयोग गरिदिनहुन व्यापारी मित्रहरुमा अनुरोध गर्दछौं ।’
अतिआवश्यक दैनिक उपभोग्य वस्तुको होम डेलिभरी गरी सहयोग गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना ब्यावसायी संघ कैलाली, दुग्ध ब्यावसायी, तरकारी ब्यावसायीलाई आग्रह गरिएको छ ।
उपमहानगरपालिकाले हिजोमात्रै बिहान ६ बजदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो। कैलालीको धनगढी उपमहानगरपालिकामा हिजो संक्रमित देखिएसँगै निर्णय उल्टिएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या अहिले ४ पुगेको छ । उनीहरु चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको इमर्जेन्सी विभाग प्रमुख डाक्टर जगदीश जोशीले बताए ।
Visited 1 times, 1 visit(s) today