कोरोना फैलिएको दिल्लीको मस्जिदमा भएको धार्मिक सभामा १९ नेपाली सहभागी |
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा १९ जना नेपाली सहभागी भएको खुलेको छ ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले निजामुद्दिनस्थित उक्त मस्जिदको धार्मिक सभामा सहभागी भएका सबै नेपालीको नाम र नेपालको ठेगाना दूतावाससँग भएको जानकारी दिए ।
‘सबै १९ जनाको नेपालको ठेगाना हामीले पठाइसकेका छौं तर उनीहरू अहिले भारतमै छन् कि नेपाल फर्किइसके भन्ने एकिन छैन, हामी पत्ता लगाउन प्रयास गरिरहेका छौं,’ राजदूत आचार्यले भने ।
आचार्यका अनुसार उक्त मस्जिदको मदरसामा १३ जना नेपाली विद्यार्थी पढ्थे ।
‘यी विद्यार्थीहरू धार्मिक सभामा सहभागी नभएकाले उनीहरूलाई संक्रमणको सम्भावना कम छ,’ राजदूत आचार्यले भने,‘धार्मिक सभामा सहभागी भएकाको खोजी र विद्यार्थीको स्वास्थ्य परीक्षणमा हामीले भारतीय अधिकारीसँग समन्वय गरिरहेका छौं।’
उनका अनुसार ती विद्यार्थीको स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने जिम्मा भारतीय पक्षले नै पूरा गर्नेछ ।
टाइम्स अफ इन्डियाले अहिलेसम्म उक्त धार्मिक सभा सहभागी भएकामध्ये २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
अहिलेसम्म मस्जिदभित्र रहेका १०३३ जनालाई बाहिर निकालिएको छ भने तीमध्ये तीन सय जनालाई अस्पताल पठाइएको छ र सात जनालाई क्वारेन्टिनमा राखिएको छ ।
उक्त धार्मिक सभामा सहभागीमध्ये ९ जना भारतीय र एक जना फिलिपिन्सका नागरिकको कोरोना भाइरसका कारण ज्यान गएको टाइम्स अफ इन्डियाल जनाएको छ ।
कसरी आइपुग्यो मस्जिदभित्र कोरोना ?
मार्च पहिलो साता ताबलिवी जमातले नयाँदिल्लीको निजामुद्दिनमा रहेको आफ्नो केन्द्रीय कार्यालयमा धार्मिक प्रार्थना आयोजना गरेको थियो ।
वर्षभरि मुस्लिम धर्मालम्बीहरूले आउजाउ गरिरहने सय वर्ष पूरानो उक्त मस्जिदमा संसारभरिबाट श्रद्धालु आएका थिए । तीमध्ये केही साउदी अरेबिया, इन्डोनेसिया, मलेससियालगायत देशका पनि थिए । जतिबेला उनीहरू भारत आए त्यतिन्जेल उनीहरूको देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालिसकेको थियो ।
भारतका विभिन्न राज्यबाट पनि मानिसहरू प्रार्थनामा आए। प्रार्थना सकेर आ(आफ्नो घर फर्किए ।
गत बिहीबार उक्त प्रार्थनामा सहभागी भएर फर्किएका जम्मु कस्मिरका एक जना तीर्थयात्रीको मृत्यु भयो । उनको मृत्युलाई कसैले वास्ता गरेन। ६५ वर्ष पुगिसकेका उनको मृत्यु स्वभाविक ठानियो ।
तर पछि निजामुद्दिनबाट फर्किएकाहरू तमिलनाडु, तेलंगना, केरला, पश्चिम बंगालमा बिरामी पर्न थाले। जाँच्दा उनीहरूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो ।
त्यसपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मस्जिद सिल गर्न निर्देशन दिएका थिए ।
Visited 1 times, 1 visit(s) today