कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३७ हजार नाघ्यो | १ लाख ६५ हजार मानिस संक्रमणबाट निको भए
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउने मानिसको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार विश्वभर मृत्यु हुने मानिसको संख्या ३७ हजार नाघेको हो ।
ज्यान गुमाउनेमध्ये इटालीमा सबैभन्दा धेरै ११ हजार पाँच सय ९१ जनाको ज्यान गएको छ । त्यस्तै, स्पेनमा सात हजार सात सय १६ जनाले ज्यान गुमाएका छन् । चीनमा पनि मृत्यु हुनेको संख्या तीन हजार तीन सय नौ पुगेको छ भने अमेरिकामा पनि ज्यान गुमाउने तीन हजार ४० पुगेका छन् ।
विश्वभर समग्र संक्रमितको संख्या पनि सात लाख ८५ हजार नाघेको छ । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या एक लाख ६४ हजार नाघेको छ । इटालीमा समग्र संक्रमित एक लाख एक हजार नाघेका छन् । त्यस्तै, स्पेनमा समग्र संक्रमितको संख्या ८७ हजार नाघेको छ भने चीनमा ८२ हजारभन्दा धेरैमा यो भाइरसको संक्रमण देखिएको छ ।
१ लाख ६५ हजार निको
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिदो छ। योसँगै निको हुनेको संख्या पनि बढ्दै छ ।
हिजोसम्मको तथ्याकं अनुसार संसारका विभिन्न मुलुकका एक लाख ६५ हजार जना कोरोना संक्रमित निको भइसकेका छन् ।
यसरी निको हुने मध्ये धेरै जना चीनबाट रहेका छन् । कोरोना भाइरसको उद्गम मुलुक चीनका ८१ हजार ५ सय १८ संक्रमितमध्ये ७६ हजार ५२ जना निको भएका छन् ।
त्यहाँ संक्रमणका कारण हालसम्म ३३ सय ५ जनाको ज्यान गइसकेको छ ।
यस्तै संक्रमणबाट सर्वाधिक नागरिक गुमाएको इटालीमा १४ हजार बढी निको भएका छन् भने अर्को युरोपेली मुलुक स्पेनमा पनि १६ हजार बढी यसको संक्रमणबाट मुक्त भइसकेका छन् ।
जर्मनीमा पनि साढे १३ हजार मानिस निको भएर घर फर्किएका छन् भने इरानमा १३ हजार ९ सय ११ जना निको भएका छन् ।
पछिल्लो समय अमेरिका कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ ।
त्यहाँ हालसम्म करिब १ लाख ६५ हजार जना संक्रमित भएकोमा ३ हजार १ सय ६५ जनाको मृत्यु भएको छ भने ५५ सय ६ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो विश्व विवरण अनुसार संसारभर ७ लाख ८५ हजार ७ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ जसमा ३७ हजार ८ सय १५ जनाको ज्यान गएको छ ।
हाल संसारमा रहेका ५ लाख ८२ हजार ३ सय ५५ जना संक्रमित मध्ये ९५ प्रतिशतलाई मध्यम स्तरको संक्रमण छ भने ५ प्रतिशतको संक्रमण अवस्था गम्भीर छ ।