दैनिक ज्यालादारी गर्नेहरूका लागि सरकारले राहत प्याकेज ल्याउदै |
काठमाडौं । सरकारले कोरोना भाइरस प्रकोपका कारण अभावमा परेकाहरूलाई राहत कार्यक्रम ल्याउने तयारी गरेको छ । ’लक–डाउन’ बाट दैनिक ज्यालादारी गर्नेहरू मर्कामा परेकाले सरकारले यस्तो तयारी गरेको हो ।
कोरोना रोकथामका लागि भइरहेको प्रयास र जनताका लागि ल्याउन सकिने प्याकेजबारे प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग ब्रिफिङ लिएका थिए । उपप्रधानमन्री पोखरेल कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत हुन् ।
‘अहिलेसम्म भइरहेका कामबारे मैले प्रधानमन्त्रीलाई जानकारी गराएँ । उहाँले अहिलेको अवस्थालाई गम्भीर रूपमा लिनुभएको छ,’ उनले भने, ’जनतालाई कसरी राहत दिन सकिन्छ भन्नेमा प्रधानमन्त्रीज्यूको चासो छ । आज बस्ने मन्त्रिपरिषद बैठकमा यसबारे छलफल हुन्छ होला ।’
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री पोखरेल र अर्थ एवम् सञ्चारमन्त्री युवराज खतिवडासँग छलफल गरेकी थिइन् ।
शुक्रबार बसेको उच्चस्तरीय समन्वय समिति बैठकले लक–डाउनका कारण जोखिममा परेका नागरिकलाई खाद्यान्न व्यवस्था गर्ने निर्णय गरेको थियो । त्यसका लागि स्थानीय तहले समन्वय गर्ने भनिएको थियो । राहत प्याकेज कार्यक्रम मन्त्रिपरिषदले घोषणा गर्नुपर्छ ।
Visited 1 times, 1 visit(s) today